सिन्धुपाल्चोक बाढी पहिरोः घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो, २ जनाको मृत्यु , २० जना बेपत्ता
काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढीले बगाएर घाइते भएका एक जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । उनलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए ।
बाह्रबिसेमा बाढीले स्थानीय जम्बु बजार बगाउँदा २ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन् ।यस्तै देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो तथा डुवानबाट सचेत रहन सरकारले आग्रह गरेको छ ।
आज सातवटै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशका नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू९क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात सेवा प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।














प्रतिक्रिया दिनुहोस्