सिन्धुपाल्चोकमा खोलाले बजार बगायो, २ को शव भेटियो, १९ बेपत्ता
काठमाडौं, असार २५ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका गातीको जम्बु बजार खोलाले बगाएको छ । बुधबार रातिबाट परेको अविरल बर्षाका कारण माथिबाट आएको ठाडो खोलाले बजार बगाउँदा १५ घरका १९ जना सम्पर्कविहीन भएका छन् । २ जनाको शव फेला परेको छ । ठूलो मात्रामा जनधनको क्षति भएको छ । बेपत्ताको खोजी कार्य जारी रहेको बताइएको छ ।
गएरातिदेखिको अविरल वर्षाले बाह्रबिसेदेखि तातोपानी क्षेत्रका विभिन्न ठाउँमा क्षति पुर्याएको छ । उद्धारका लागि निस्किएको नेपाली सेना र नेपाल प्रहरी पनि जम्बुसम्म पुग्न नसकेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । अविरल वर्षाका कारण बाह्रबिसे नगरपालिका जम्बुको ठाडोखोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकाका १५ घर बगाएको र केही व्यक्ति सम्पर्कविहीन भएका छन् ।
बाह्रबिसे नगरपालिका उपप्रमुख सुशीला पाख्रिनले बताएअनुसार वर्षाले कति क्षति भयो भन्ने यकिन हुनसकेको छैन । बाह्रबिसेको खोर्सानीवारीभन्दा माथितिर जान नसकिएको र टेलिफोन अवरुद्ध भएको पाख्रिनले बताइन् । “खोला सडकमाथि बगिरहेको छ, उद्धारका लागि जानसक्ने अवस्था छैन”, उनले भनिन् । निरन्तर पानी परिरहेकाले पहिरो आएको हो । भोटेकोशी नदीको बहाव बढ्नाले आसपासका नागरिक त्रसित बनेका छन् ।
प्रतिक्रिया दिनुहोस्