ट्याक्सी सञ्चालन गर्ने व्यवस्था मिलाउन संसदीय समितिको निर्देशन

काठमाडौं, असार २४ । प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले स्वास्थ्य सतर्कता अपनाएर ट्याक्सी सञ्चालन गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बुधबार बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो । विश्व स्वास्थ्य संगठन र कोभिड संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)ले तय गरेको मापदण्डअनुसार ट्याक्सी सेवा सञ्चालन गर्ने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो ।

सार्वजनिक यातायातसँग सम्बद्ध सरोकारवालाहरुको छलफलपछि समितिकी सभापति कल्याणीकुमारी खड्काले सरकारले ‘लकडाउन’को अवधिमा केही पेसा–व्यवसाय सञ्चालन गर्ने व्यवस्था गरेकोले सोही मापदण्ड पूरा गरी अर्थतन्त्र चलायमान बनाउन पनि ट्याक्सी सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको बताईन्।

समितिमा भएको छलफलमा सार्वजनिक यातायातसँग सम्बद्ध सरोकारवालाहरुले लकडाउनका कारण मजदुरहरुको दैनिकी कष्टकर बनेको, गुजारा चलाउन नसकेपछि आत्महत्या गर्ने अवस्थासमेत सिर्जना भएको गुनासो गरेका थिए ।

अहिलेको अवस्थामा बैंकहरुको ऋण तिर्नसमेत समस्या भएकोतर्फ सरकारले ध्यान दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्