गृहद्वारा आइजीपीका लागि शैलेश थापाको नाम सिफारिश, मन्त्रिपरिषदले आजै निर्णय गर्ने

काठमाडौं, असार २३ । नेपाल प्रहरीको नयाँ महानिरीक्षक(आइजीपी)का लागि गृह मन्त्रालयले एआईजी शैलेश थापा क्षेत्रीलाई सिफारिस गरेको छ।

आज बसेको गृहमन्त्रीस्तरीय बैठकले नेपाल प्रहरीमा वरिष्ठतम एआइजी थापालाई आइजीपीका लागि सिफारिस गरेको गृहमन्त्री निकट स्रोतले जनाएको छ । वरिष्ठताका आधारमा थापालाई आइजीपीका लागि सिफारिस गरिएको हो।

आइजीपी नियुक्तिको निर्णय आज दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद बैठकले गर्ने छ। सिफारिसलाई मन्त्री परिषद्ले निर्णय गर्नु पर्ने भएकाले पक्कापक्की भने हुन सकेको छैन। यता अर्का प्रतिस्पर्धी एआइजी हरिवहादुर पालको समेत आइजीपीको चर्चा छ।

यसपटक आईजी नियुक्तिमा गृहमन्त्री रामबहादुर थापाको चासो कम देखिएको छ। सर्वेन्द्र खनाललाई आईजीपी बनाउँदा गृहमन्त्री थापाले अडान नै लिएका थिए। तर यसपटक दुई मध्ये जो भएपनि फरक नपर्ने उनको बुझाई छ।

स्रोतका अनुसार प्रधानमन्त्रीले यसअघि नवराज सिलवाललाई पहिलो नम्बरमा रहे पनि आईजी नबनाउँदा भएको बिबाद समेतको उदाहरण दिँदै थापालाई नियुक्त गर्ने तयारी गरेका हुन्।

त्यतिबेला पहिलो नम्बरमा रहेका डीआईजी नवराज सिलवाललाई नगरी तेश्रो नम्बरमा रहेका जयबहादुर चन्दलाई नियुक्त गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्