गरिमा बैंकद्वारा असारको ब्याज मिनाहा
काठमाडौं, असार १८ । गरिमा विकास बैंकले यात्रुवाहक कालो नम्बर प्लेट र पर्यटक सवारीका यात्रुवाहक सार्वजनिक यातायातलाई असार महिनाको व्याज रकम राहतस्वरुप पूरै छुट दिने जनाएको छ ।
कोभिड–१९ का कारण जारी बन्दाबन्दीले यातायात क्षेत्रमा देखिएको असहजतालाई ध्यान दिदैँ बैँकले सो निर्णय गरेको हो । बैंकमा सुरक्षणका रुपमा सम्बन्धित सवारी साधनसमेत धितो राखी यात्रुवाहक बस, मिनिबस, माइक्रो बस, जिप र ट्याक्सीलगायत खरिदका लागि प्रवाह गरेको हायर पर्चेज शीर्षकका ऋणीलाई उक्त सुविधा प्रदान गरेको हो ।
बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिमको गत बैशाख, जेठ र असार महिनाको ब्याजदरमा दुई प्रतिशत विन्दु दरले दिइएको छुटबाहेक असारको व्याज रकम राहतस्वरुप पूरै छुट दिने निर्णय गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार ऋणीले असार मसान्तभित्र बैंकको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी कर्जा नियमित गराई उक्त सुविधा लिन सक्नेछन् । रासस
प्रतिक्रिया दिनुहोस्