खानेपानी आयोजना खोटाङका ईन्जिनियर शाक्यविरूद्ध १० करोडको भ्रष्टाचार मुद्दा
काठमाडौं, असार १६ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना खोटाङमा कार्यरत आयोजना प्रमुख राजकुमार शाक्यविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोय अनुसन्धान आयोगले उनीविरूद्ध १० करोड ७७ लाख ५० हजार ४५३ रुपैयाँ बिगो माग्दै मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
कमिशन नलिई काम नगर्ने, आर्थिक वर्ष २०७५र७६ मै करिब एक करोड असुल गरेको उजुरी आएपछि अनुसन्धान थालेको अख्तियारले शाक्यले सो बराबरको रकम भ्रष्टाचार गरेको देखिएपछि मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए।
शाक्य २०४९ जेठ २ गते ओभरसियरबाट सरकारी सेवामा प्रवेश गरेका थिए। २०६४ देखि ईन्जिनियर पदमा र २०७२ देखि सिनियर डिभिजन ईन्जिनियर पदमा बढुवा भएका शाक्य निजामती सेवामा प्रवेशपछि खानेपानी तथा ढल व्यवस्थापन अन्तर्गतका विभिन्न कार्यालयहरूमा कार्यरत थिए।
सार्वजनिक सेवामा रहँदा उनले शाक्यले आफू र श्रीमतीका नाममा जग्गा खरिद, घर निर्माण, सवारीसाधन खरिद लगायतमा खर्च लगानीका साथै विभिन्न व्यक्तिका नाममासमेत जग्गा खरिद गरी सम्पत्ति लुकाइएको अनुसन्धानमा देखिएको छ।
अनुसन्धानको क्रममा संकलित प्रमाणका आधारमा उनले अहिलेसम्म १ करोड ६१ लाख ७३ हजार ५६१ रुपैयाँ मात्र वैध कमाइ गरेको देखिएको कोइरालले बताए। उनले आर्जन गरेको गैरकानुनी सम्पत्ति फिर्ता लिई कानुन बमोजिम कारबाही गर्ने मागदाबी लिइएको अख्तियारले जनाएको छ।
कार्कीविरूद्ध पनि भ्रष्टाचार मुद्दा दायर
यस्तै, आयोगले नेपाल विद्युत प्राधिकरणको फोरमेन पदबाट अवकाश पाएका टहलबहादुर कार्कीविरूद्ध पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
पदमा बहाल रहँदा गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले उनीविरूद्ध एक करोड ९ लाख ८७ हजार ६५८ रुपैयाँ बिगो कायम गरी मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
कार्कीले सार्वजनिक सेवा प्रवेश गरेको २०३९ साल मंसिर १६ देखि अवकाश २०७३ पुस १ गतेसम्मको आय(व्यय विश्लेषण गर्दा सो बराबरको रकम गैरकानुनी आर्जन गरेको देखिएको अख्तियार प्रवक्ता कोइरालाले बताए।
यो अवधिमा कार्कीले दुई करोड १२ लाख ४८ हजार ४७२ आय आर्जन गरेको देखिएको कोइरालाले बताए।
कार्कीको कूल आयबाट खर्च तथा लगानी घटाउँदा सो बराबर गैरकानुनी देखिएको उनले बताए। उक्त सम्पत्तिको स्रोत खुलेको नदेखिएकोले उनले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी उच्चस्तरको जीवनयापन गरेको पुष्टि भएको अख्तियारको दाबी छ। अभियोग पत्रमा कार्कीले गैरकानुनी आर्जन गरेको सम्पत्ति जफत गर्न माग गरिएको छ।















प्रतिक्रिया दिनुहोस्