ट्याक्सी व्यावसायी आन्दोलनमा, सरकारले बेवास्ता गरेको गुनासो
काठमाडौं, असार १६ । सरकारले लकडाउन बढाएपछि ट्याक्सी व्यावसायी आन्दोलनमा होमीएका छन् । लकडाउन लम्बिँदै गएपछि व्यवसाय नै चौपट भएको भन्दै ट्याक्सी व्यावसायी आन्दोलनमा उत्रीएका हुन् ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लामो समय लकडाउन हुँदा ट्याक्सी चलाउन नपाउँदा आम्दानीको स्रोत बन्द भएको भन्दै उनीहरुले आन्दोलन थालेको बताएका छन् ।
ट्याक्सी व्यवसायीहरुले रोगले नभई भोकले मर्ने अवस्था आएको भन्दै ट्याक्सी सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेका छन् ।निजी गाडी सञ्चालन गर्दा कोरोना नलाग्ने तर ट्याक्सी सञ्चालन गर्दा लाग्ने जस्तो गरी सरकारले फरक व्यवहार गरेको भन्दै व्यावसायीले गुनासो गरेका छन् ।
व्यवसायीहरुले व्यवस्थित तरिकाले पछाडिको सिटमा दुई जना मात्र राखेर ट्याक्सी चलाउन पाउनुपर्ने बताएका छन् । उनीहरुले स्यानिटाइनजर र मास्कसहित पछाडि दुई जना राखेर उपत्यकाभित्र ट्याक्सी चलाउन पाउनुपर्ने भन्दै यस अघि नै ज्ञापन पत्र बुझाएको तर सरकारले बेवास्ता गरेकोले आन्दोलन गर्नुपरेको बताए ।व्यवसायीहरुले ट्याक्सी सञ्चालन गर्न नपाउँदा आफ्नो दैनिक जीवन निर्वाहमा समेत समस्या भएको गुनासो गरेका छन् ।
उनीहरुले सरकारका कारण ट्याक्सी चलाउन नपाउँदा घरमा खाने कुरा सकिएको र रोग, भोक र तनावले मानसिक सन्तुलन गुम्ने स्थितिमा आफुहरु पुगेको बताएका छन् । दिनभर काम गरेर बेलुका खानुपर्ने मान्छेहरुलाई सरकारले बेवास्ता गरेको गुनासो उनीहरुको छ ।
प्रतिक्रिया दिनुहोस्