नेपालमा पनि भित्रियो सलह किरा

काठमाण्डौ, असार १३ नेपालमा सलह किरा प्रवेश गरेको छ । शनिबार बिहान भारतबाट सलहको झुण्ड नेपाल प्रवेश गरेको हो । भारतसँग सीमाना जोडिएको प्रदेश २ का तीन जिल्लामा सहल देखिएको जानकारीमा आएको तर ठाउँ र सलह किराको प्रजातिबारे यकिन भइनसकेको कृषि मन्त्रालयले जनाएको छ ।

नेपाल छिरेका सलह किरा बारा, पर्सा र सर्लाहीमा रुख तथा जमिनमा बसेको जानकारीमा आएको मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिए । सहल किरा देखिएका जिल्लाका किसानसहित अरु किसानलाई पनि सचेत रहन मन्त्रालयले आग्रह गरेको छ । किसान एक्लैले सलह किरालाई रोक्न नसक्ने भएकोले ठूलो क्षति हुनबाट रोक्न पालिका र प्रदेश सरकारले आवश्यक समन्वय गर्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै कृषि मन्त्रालय अन्तर्गतको प्लान्ट क्वरेण्टीन तथा विषादी केन्द्रका प्रमुख सहदेव हुमागाईँले सलह नेपाल प्रवेश गरेको तर प्रजातिको बारेमा यकिन गर्न बाँकी रहेको बताएका छन् ।

सर्लाहीको नवलपुरमा रहेको तेल बाली अनुसन्धान कार्यक्रमको परिसरमा बसेका किराहरु उड्दै–उड्दै नजिकै रहेको उष्ण प्रदेशीय बृहत् बागबानी केन्द्रमा समेत प्रवेश गरेका छन् । अहिले देखिएको किरा ८/१० हजारको झुण्डमा रहेको छ ।पूर्व अफ्रिकाबाट शुरु भएको सलहको प्रकोप मध्यपूर्व हुँदै केही साताअघि पाकिस्तान र भारत आइपुगेको थियो, जसले अन्नबालीमा ठूलो क्षति पुर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस्