दुई असईसहित ३ जना प्रहरी निलम्बित, यस कारण गरियो
काठमाडौं, असार १२ । प्रदेश २ मा कार्यरत दुई जना प्रहरी सहायक निरीक्षक र एक जना जवान निलम्बनमा परेका छन् । रौतहटको छुट्टाछुट्टै कार्यालयमा कार्यरत यी तीन जना प्रहरीलाई निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ ।
निलम्बित हुनेमा रौतहटको इलाका प्रहरी कार्यालय पिपरा रजबाडा दरबन्दी भई प्रहरी चौकी औरैयामा कार्यरत असई ललित साह, सोही कार्यालयमा कार्यरत प्रहरी जवान दिनेश हजारा र इलाका प्रहरी कार्यालय देबाही गेनाही दरबन्दी भई प्रहरी चौकी ब्रहमपुरीमा कार्यरत असई संजीबकुमार झा छन् ।
असई साह र जवान हजाराले आर्थिक प्रलोभनमा परी हुण्डी कारोबारीमा संलग्न व्यक्तिलाई सघाएको प्रमाणित भएपछि उनीहरुलाई निलम्बन गरिएको प्रदेश प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहले जानकारी दिए ।
यस्तै, असई झाले प्रहरी आचरणविरुद्व काम गर्दा पटक–पटक सुध्रिने मौका दिँदासमेत नसुध्रेकाले निलम्बन गरिएको सिंहले बताए ।
असई झा हालै मात्र एक महिलासँग रातिको समयमा आपत्तिजनक अवस्थामा भेटिएका थिए । आपत्तिजनक अवस्थामा उनलाई गाउँलेले फेला पारी प्रहरी कार्यालयको जिम्मा लगाएको थियो ।
प्रतिक्रिया दिनुहोस्