सीमा विवादः तीन पटकसम्म वार्ताका लागि प्रयास गरेपनि भारतले मानेनः मन्त्री ज्ञवाली
काठमाडौं, असार १२ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सीमा विवादबारे छलफलका लागि नेपालले पटक–पटक कोशिस गरे पनि भारतले इच्छा नदेखाएको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को जारी स्थायी कमिटी बैठकमा बोल्दै मन्त्री ज्ञवालीले भारतले नेपाली भूभाग समेटेर राजनीतिक नक्शा सार्वजनिक गरेपछि गत नोभेम्बर, डिसेम्बर र जनवरीमा वार्ताका लागि कोशिस गरेको जानकारी दिएका हुन् ।
मन्त्री योगेश भट्टराईका अनुसार, ज्ञवालीले गत नोभेम्बर, डिसेम्बर र जनवरी तीन पटक पत्र पठाउँदा पनि भारतले चासो नदिएको तर सरकारले वार्ताका लागि पहल गरिरहेको बताएका थिए । उनले चीनले सीमा मिचेको भनेर पछिल्लो समय मिडियामा आएका समाचार भने गलत रहेको बैठकलाई जानकारी गराएका छन् ।
भारतको अनिच्छाकै बीचमा पनि नेपालले सीमा समस्या समाधानका लागि निरन्तर पहल गरिरहेको उनले बताएका छन्। बैठक भारतसँगको सीमा विवादको विषयमा केन्द्रित रहेको छ ।
अधिकांश सदस्यहरुले भारतसँगको सीमा विवादको विषयमा सरकारले लिएको अडान सही भएको भन्दै भारतसँग वार्ता गर्न सुझाएका छन् ।















प्रतिक्रिया दिनुहोस्