नेकपा स्थायी कमिटी बैठक जारी : प्रधानमन्त्री ओली भने अनुपस्थित

काठमाडौं, असार १२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको दोस्रो दिनको बैठक जारी रहेको छ । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली भने सहभागी भएका छैनन् ।

आफ्नै सरकारी निवास बालुवाटारमा बैठक गरिएको भए पनि प्रधानमन्त्री ओली अनुपस्थित भएका हुन् । सबै एजेन्डामा प्रधानमन्त्री ओलीको उपस्थिति आवश्यक नपर्ने भएकाले आवश्यकताअनुसार बैठकमा उपस्थित हुने बालुवाटार स्रोतले जनाएको छ ।

ओलीले बैठक शुरु भएको दिन बुधबार सम्बोधन गर्नुभएको थियो । सोही अर्का अध्यक्ष दाहालले पनि बैठकलाई सम्बोधन गर्नुभएको थियो । शुरुको दिनमै दुई अध्यक्षबीच एकार्कामा लाञ्छित गर्ने काम भएको थियो ।

पहिलो वरियताका अध्यक्ष ओली अनुपस्थित भएपछि अध्यक्षता र बैठक सञ्चालन भने अर्का अध्यक्ष पुष्पकमल दाहालले गरेका छन् ।

सात एजेण्डा तय भएको स्थायी कमिटी बैठकमा सदस्यहरूले सरकारको काम कारवाहीबारे आफ्ना धारणा राख्दै छन् । शुक्रवारको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारत सीमा विवाद समाधानका लागि भइरहेका प्रयासबारे पनि जानकारी गराएका छन् ।

दुई अध्यक्षबीचको सल्लाह अनुसारनै बैठकको अध्यक्षता दाहाल गर्ने र महासचिव विष्णु पौडेलले बैठक सञ्चालन गर्ने तय भएको जनाइएको छ । बैठकमा दाहाल पक्षीय नेताहरु आक्रामक रुपमा प्रस्तुत हुने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्