चीनले सिमा अतिक्रमण गरेको छैनः परराष्ट्र मन्त्रालय
काठमाडौं, असार ११ । सरकारले चीनसँग नेपालको सीमा विवाद नरहेको बताएको छ । चीनले नेपालको उत्तरी सिमामा कैयौं हेक्टर भुभाग अतिक्रमण गरेको खबर आइरहँदा परराष्ट्र मन्त्रालयको उक्त भनाई सार्वजनिक भएको हो । तर, परराष्ट्रले सगरमाथाको चुचुरोलाई चीनले आफ्नो समेत दाबी गरेर सार्वजनिक गरिरहेको विषयमा भने केही बोलेको छैन ।
यसबारे दिदै परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी सीमा विवादसम्बन्धी समाचार कृषि तथा पशुपक्षी विकास मन्त्रालयको एक रिपोर्टका आधारमा प्रकाशन भएको तर कृषि मन्त्रालयले नै त्यस्तो प्रतिवेदन अस्तित्वमा नै नभएको बताएको परराष्ट्रले उल्लेख गरेको छ ।
कृषि मन्त्रालयले सीमासम्बन्धी विषय आफ्नो क्षेत्राधिकारमा नपर्ने पनि उल्लेख गरेको परराष्ट्रले विज्ञप्तिमार्फत बताएको छ ।त्यस्तै हराएको भनिएको ३७ र ३८ नम्बरको सीमा स्तम्भ राख्दै नराखिएको मन्त्रालयले बताएको छ । प्राकृतिक कारणले दुई देशबीचकै सहमतिमा ती स्तम्भ नराखिएको परराष्ट्रको भनाइ छ ।
नेपाल र चीनबीचको सीमा सन् १९६१ अक्टोबर ५ मा दुई देशबीच भएको सीमा सम्झौताले निर्धारण गरेबमोजिम रहेको परराष्ट्रले उल्लेख गरेको छ ।
सीमा सम्बन्धी केही समस्या देखिएमा दुई देशबीचको समझदारीमा समाधान गर्ने पनि परराष्ट्रले विज्ञप्तिमा उल्लेख गरेको छ ।मन्त्रालयले खबरहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कृषि मन्त्रालयले नेपाल चीन सिमामा नेपाली भुमि अतिक्रमणको रिपोर्टको खण्डन गरिसकेको र यो विषय उक्त मन्त्रालयको अधिकार क्षेत्रभित्र नपर्ने स्पष्ट पारिसकेको भनेको छ ।
५ अक्टोबर १९६१ को सिमा सन्धीमा आधारित रहेर नेपाल र चीनको सिमाना नक्शांकन र सिमांकन भएको भन्दै खबरहरुमा उल्लेख भएको पिलर नम्बर ३७ र ३८ हराएको भन्नै मिडिया रिपोर्ट निराधार भनेको छ । उक्त सिमा स्तम्भ नगाडिएको र प्राकृतिक अवस्थितिलाई मानिएको भनेको छ ।
परराष्ट्रले भनेको छ, ‘यदि कुनै विषय उठेमा दुई देशबीच सम्बन्धित अधिकारीहरुले आपसी छलफलबाट समाधान खोजिनेछ ।’ उसले मिडियालाई दुई देशको सम्बन्धको संवेदनशीलतालाई बुझेर यस्ता सुचनाको सम्बन्धित अधिकारिबाट पुष्टि गर्न समेत भनेको छ ।















प्रतिक्रिया दिनुहोस्