एमसीसीको पुरक सम्झौता अनुमोदनका लागि पेश , तर नेकपाभित्रै किचलोका

काठमाडौं, असार ११ । संसदमा विवादित अमेरिकी सहायता एमसीसीको पुरक सम्झौता अनुमोदनका लागि पेश गरिएको छ ।

मूल सम्झौता अनुमोदनकै विषयमा सत्तारुढ नेकपाभित्र विवाद चर्किरहेका बेला बुधबार प्रतिनिधिसभा सचिवालयमा अर्थ मन्त्रालयले सम्झौता कार्यान्वयनसँग सम्बन्धित पुरक सम्झौता पेश गरेको हो ।

मन्त्रालयका अनुसार एमसिसी परियोजना कसरी कार्यान्वयन गर्ने भन्ने विषय सम्झौतामा समेटिएको छ । गत वर्ष असार ३० मै अनुमोदनका लागि मूल सम्झौता संसदमा पेश गरेको भए पनि सत्तारुढ दल नेकपाभित्रको किचलोका कारण अघि बढ्न सकेको छैन ।

असार १६ गतेसम्म सम्झौता अनुमोदन गरिसक्नुपर्ने समय सीमा भए पनि नेकपाभित्रको रडाकोका कारण सभामुखले संसद बैठक नै १७ गतेसम्मका लागि स्थगित गरिदिएकाले अब के हुने भन्ने अन्यौल भएको छ ।

यही अन्यौल भइरहेका बेला बुधबार मात्र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अमेरिकी विदेशमन्त्री माइक पोम्पियोबीच टेलिफोन संवाद भएको थियो ।

अमेरिका एमसीसीमार्फत् ५५ अर्ब रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउन राजि भएको छ भने नेपालले उत्तर सहयोग उर्जा र सडकमा लगाउने सहमति गरेको छ । पाँच वर्षभित्र सकाइसक्नुपर्ने उक्त परियोजनाका लागि नेपालले विद्युत प्रशारण लाइन र सडक स्तारोन्नति परियोजना छनौटसमेत गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्