अदालतको अवहेलनामा प्रधानमन्त्रीलाई आफै उपस्थित हुन सर्वोच्चको आदेश

काठमाडौं , असार ११ । सर्वोच्चले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ दिनभित्र आफै उपस्थित हुन भनी आदेश दिएको छ। सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीलाई कोरोना सम्बन्धी सातवटा अन्तरिम आदेशको पालना नगरेको भन्दै जवाफसहित आफैँ उपस्थित हुन आदेश दिएको हो ।

अधिवक्ता प्रकाशमणि शर्माले दायर गरेको अवहेलना मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलालले आदेश पालना नगर्नुको लिखित जवाफसहित १५ दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको हो ।

कोरोना नियन्त्रण तथा रोकथामका लागि सार्वजनिक सरोकारको विषयअन्तर्गत दायर भइ सरकारलाई भएका आदेशको कार्यान्वयन नगरेको भन्दै अधिवक्ता शर्माले सर्वोच्चमा प्रधानन्त्रीविरुद्ध अवहेलना मुद्दामा कारबाही गर्न माग गर्नुभएको थियो ।

कोरोनाले सिर्जना गरेको विषम परिस्थिति र नेपाली नागरिकको सम्मानपूर्वक बाँच्न पाउने हक, स्वास्थ्यसेवामा समान पहुँच र व्यक्तिको जिउज्यानसमेतको रक्षार्थ नेपाल सरकारबाट अपेक्षित तत्काल प्रभावकारी कार्यहरूसँग सम्बन्धित रहेको रहेका तथा तत्सम्बन्धमा यस अदालतको आदेशको अविलम्ब पालना नगरिएमा वा पालना गर्ने मनसाय नदेखाइएमा त्यसबाट जनतामा न्यायपालिकाप्रतिको आस्था, विश्वास र प्रभावकारितामा प्रतिकूल प्रभाव पर्ने प्रकृतिको देखिएको हुँदा यथाशीघ्र सुनुवाइ गर्न वाञ्छनीय भएकाले सबै लिखित जवाफहरू दर्ता भएको वा म्याद नाघेको १५ दिनभित्र पेशी चढाइ सुनुवाइ गर्नू,’ आदेशमा भनिएको छ।

सर्वोच्चको आदेशमा २०७७ वैशाख ५ गते सरकारका नाममा जारी अन्तरिम आदेश अवज्ञा गरेको भन्ने प्रश्न उठाएर वरिष्ठ अधिवक्ता शर्माले हालेको रिटमा आदेशमा उल्लेखित विभिन्न ७ वटा अन्तरिम आदेशको पालना कसरी गरिएको छ र ती आदेश पालना नगर्न कुन आदेश, निर्णय, निर्देशन दिइएको हो वा होइन भन्ने विषयमा जवाफ माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्