कोरोना कहरः विश्वभर ५० लाख ४१ हजारले जिते कोरोना, मृतक र संक्रमित कति ?

काठमाडौं , असार १० ।  विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका ५० लाख ४१ हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ५० लाख ४१ हजार ९ सय ५८ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ४ लाख ७९ हजार ८ सय १८ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ९३ लाख ५५ हजार १ सय ७९ छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म १ लाख २३ हजार ४७५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या २४ लाख २४ हजार ४१८ पुगेको छ। सोमबार त्यहाँ ३६ हजार १५ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ८६३ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा संक्रमितको संख्या ११ लाख ५१ हजार ४७९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ६४ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ५२ हजार ७७१ पुगेको छ ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १४ हजार ४ सय ८३ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा १५ हजार ६६५ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको ४ लाख ५६ हजार १८३ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्