पाल्पा पहिरो : मृत्यु भएका तीनै जनाको सनाखत
काठमाडौं, असार ९ । पाल्पाको तानसेन नगरपालिका–११ बन्दीपोखरास्थित सम्मोबारीमा गएको पहिरोमा पुरिएर मृत्यु भएका तीनै जनाको सनाखत भएको छ ।
मृत्यु हुनेमा पाल्पाकै रिब्दीकोट गाउँपालिका–२, देउरालीका ३२ वर्षीय भुवन खाम्चा, चितवनको भरतपुर महानगरपालिका–२९, बाङ्गेसालका ३३ वर्षीय बीरबहादुर गुरुङ र काभ्रेको पाँचखाल नगरपालिका–८, होक्सेबजारका २८ वर्षीय निवेश श्रेष्ठ रहेका छन् ।
सोमबार गएको पहिरोले पानी बोक्ने ट्याङकर गाडी पुर्दा उनीहरुको मृत्यु भएको हो । पहिराले गाडी पुरिदा दुई जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मिसन अस्पतालमा मृत्यु भएको हो ।
सम्मोबारीमा झण्डै दुई सय मिटर पहिरो खसेको छ । पहिरोले सडकमा रोकिएको पानी ट्याङकरसँगै ट्रक, जीप र कार पनि पुरेको थियो । प्रहरीले पहिरो पन्छाएपछि आज बिहानदेखि एकतर्फी रुपमा सडक सञ्चालनमा आएको छ ।
प्रतिक्रिया दिनुहोस्