कालीगण्डकी नदीमा पानीको सतह उच्च विन्दुमा, बस्तीहरु जोखिममा, सडक खण्ड अबरुद्ध

काठमाडौं, असार ६ । लगातारको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाब बढेको छ । हिमालपारीको जिल्ला मुस्ताङबाट म्याग्दी र पर्वत हुँदै बग्ने कालीगण्डकीमा शनिबार पानीको सतह उच्च विन्दुमा पुगेको हो ।

गएरातिदेखि निरन्तरको वर्षासँगै आएको बाढीका कारण पानीको सतह ह्वात्तै बढेपछि कालीगण्डकी किनारका बस्तीहरु जोखिममा परेका छन् ।

पर्वतका जलजला स्थित वारीवेनी, वगरफाँट, लस्ती, खनियाघाट, मालढुंगा, अर्मादी, मोदीवेणी, तथा बागलुङको जैमिनिघाट र पर्वतकै इमिचौर र सेतीवेणी बजार कालीगण्डकीको वहावका कारण जोखिममा परेका छन् ।

अहिलेसम्म कतै क्षति भने भएको छैन । तर, बहाब बढेका कारण सचेत हुन प्रशासनले आग्रह गरेको छ । त्यस्तै मोदीखोलाको बहाब पनि बढेको छ ।

बाढीका कारण जिल्लाका विभिन्न बस्तीहरु जोखिममा परेका छन् । वषाकै कारण पर्वतका विभिन्न सडकहरु समेत अवरुद्ध भएका छन् । मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अबरुद्ध छ ।

प्रतिक्रिया दिनुहोस्