भारत -चीन विवादः छलफल गर्न मोदीले बोलाए सर्वदलीय बैठक

काठमाडौं , असार ५ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनसँग पछिल्लो समयमा जारी सीमा विवाद तथा आफ्ना सेना मारिएको विषयमा छलफल गर्न शुक्रबार भारतका सबै राजनीतिक दलहरुको संयुक्त बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीले शुक्रबार अपराह्न ५ बजेका लागि भर्चुअल बैठक बोलाएको प्रधानमन्त्रीको कार्यालयद्धारा जानकारी गराइएको छ ।बैठकमा भारतका प्रमुख राजनीतिक दलहरुका अध्यक्षहरुको सहभागिता रहने बताइएको छ ।

भारत र चीनबीचको लद्दाखस्थित ग्वालन भ्यालीलीमा यही जुन १५ को राति भारत र चीनका सीमा सुरक्षा सैनिकबीच झडप भएको बताइएको थियो ।त्यस झडपमा भारतका कम्तीमा पनि २० जना सैनिकको ज्यान गएको भारतले जनाएको छ ।

उक्त हिंसापछि भारत र चीनबीच सीमा विवाद बढ्दो रहेको देखिएको छ ।सीमामा भएको यो हिंसाप्रति संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले पनि चासो व्यक्त गरेका थिए ।

साथै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले वार्ताको माध्यमबाट विवादको समाधान खोज्नका लागि पनि हालैमात्र आह्वान गरेका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्