इटालीबाट पुरै भुक्तानी पायो इन्भेस्टमेन्ट बैंकले!

काठमाडौं , असार ४ । मुद्दा जितेपछि नेपाल इन्भेस्टमेन्ट बैंकले इटालीको बैंकबाट पूरै पैसा भुक्तानी पाएको छ । बैंकले दुई किस्तामा गरी २ अर्ब ४ करोड रुपैयाँ प्राप्त गरेको जनाएको छ । बैंकले जुन ९ मा २ अर्ब ४ करोड रुपैयाँको मुद्दा जितेको थियो ।

इटलीको अदालतमा परेको तनहुँ हाइड्रोपावरसम्बन्धी मुद्दामा १६ महिनापछि बैंकले न्याय पाएको हो । उक्त मुद्दा जितेपछि त्यहाँको बैंकले पैसा फिर्ता गरेको इन्भेस्टमेन्ट बैंकले जनाएको छ ।
तनहुँ जलविद्युत् परियोजनाको तत्कालीन ठेकेदार कम्पनी सीएमसीको बैंक ग्यारेन्टी बैंकले दिएको थियो । तर, कम्पनीले भनेअनुसार काम नगरेपछि तनहुँ हाइड्रोले ग्यारेन्टीवापतको रकम बैंकसँग दाबी गरेको थियो भने इन्भेस्टमेन्ट बैंकले दाबी भुक्तानी गरिदिएको थियो ।

सीएमसीले आफ्नो जमानत जफत भएको भन्दै इटालीको स्थानीय अदालतमा मुद्दा हालेको थियो । अदालतको एकल इजलासमा सुरुमा इन्भेस्टमेन्ट बैंक हारेको थियो । तर, बैंकले पुनः पुनरावेदन गरेपछि गत साताको तीन सदस्यीय न्यायाधीशले बैंकको पक्षमा फैसला गरेका थिए ।

बैंकले सीएमसीका लागि ८५ करोड ८७ लाख ५० हजार युरो ग्यारेन्टी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्