रोकिएन सरकारविरुद्ध आन्दोलन, आज पनि देशभर प्रदर्शन
काठमाडौं , जेठ ३० । सरकारविरुद्ध प्रदर्शन शुक्रबार पनि जारी छ। प्रदर्शनकारीले आज वसन्तपुरमा सरकारविरुद्ध आन्दोलन जारी राखेका हुन्। लकडाउनका बेला प्रदर्शन गरे पक्राउ गर्ने गृह मन्त्रालयको चेतावनीलाई युवाहरुले बेवास्ता गरेका छन्।
उता सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा युवाहरुले सरकारकाबिरुद्ध विरोध प्रदर्शन गरेका छन्।पछिल्लो समय भ्रष्टाचार बढेको, कोरोना महामारीको उचित व्यवस्थापन नगरेको लगायतका विषयमा धनगढीका युवाले खबरदारी गरेका हुन्।
धनगढीको ट्राफिक चौराहमा शुक्रबार दिउँसो त्यहाँ खटिएका सुरक्षाकर्मीलाई मास्क वितरण गरेर प्रदर्शन शुरु गरिएको थियो। उक्त प्रर्दशनमा ठूलो संख्यामा युवा युवतीहरु प्लेकार्डसहित सहभागी भएका थिए।
यता सरकारको काम प्रति असन्तुष्टि जनाउँदै भैरहवाका युवाले मौन प्रर्दशन गरेका छन् ।राष्ट्रिय झण्डासहित स्वतस्र्फूत रुपमा उत्रिएका युवाले मौन रहेर पनि प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । शान्तिपूर्ण रुपमा प्रर्दशन गरेका उनीहरुले कुनै किसिमको नाराबाजी गरेनन् ।
भैरहवाको बुद्धचोकबाट निकालिएको जुलुस जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर भौतिक दुरी कायम गर्दै उनीहरु धर्नामा बसेका थिए ।
यतिबेला सरकारले कोरोना महामारी नियन्त्रण र रोकथामका लागि प्रभावकारी काम गर्न नसकेको भन्दै देशभर आन्दोलन छ। प्रदर्शनकारीले सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको, आरडिटी किट बन्द गरेर पिसिआर किटले मात्र कोरोना परीक्षण गर्नुपर्ने, १० अर्बको खर्चको हिसाब देखाउनुपर्ने जस्ता माग राख्दै आन्दोलन तीव्र पारेका छन्।ु
प्रतिक्रिया दिनुहोस्