लकडाउनको नयाँ मोडालिटी सार्वजनिक : यी हुन् तत्काल खुल्ने र नखुल्ने क्षेत्रहरु
काठमाण्डौ , जेठ २९ । कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले करिब तीन महिनायता लागु गरेको लकडाउनलाई खुकुलो पार्ने सरकारको निर्णय औपचारिकरुपमा सार्वजनिक भएको छ। योसँगै सरकारले लकडाउनको नयाँ मोडालिटी लागू गरेको छ । कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा लकडाउनलाई खुकुलो बनाउनेसहितको नयाँ मोडालिटी सरकारले कार्यान्वयनमा ल्याएको हो ।
समितिको प्रस्ताव अनुसार तीन चरणमा लकडाउन खुकुलो बनाउने सरकारको रणनीति छ । पहिलो चरण बिहीबारदेखि २१ दिनसम्मलाई मानिनेछ । अवस्था हेरेर त्यसको १५ दिनसम्म दोस्रो चरण र थप १५ दिनलाई तेस्रो चरण मानिनेछ ।
पहिलोभन्दा दोस्रो र दोस्रोभन्दा तेस्रो चरणमा लकडाउन खुकुलो बनाउँदै लैजाने सरकारले जनाएको छ । अबका दिनहरुमा अवस्था कस्तो बन्दै जान्छ, त्यसको मूल्याङ्कन गरेर लकडाउनको मोडालिटी परिवर्तन हुन सक्ने पनि सरकारले जनाएको छ ।
यसबीचमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको जनस्वास्थ्य मापदण्ड र गृह मन्त्रालयबाट जारी गरिएको सुरक्षा मापदण्ड अनिवार्यरुपमा पालना गरी केही क्षेत्र खुल्ने भए पनि केही क्षेत्र भने अझै केही समय बन्द नै रहनेछ ।
सञ्चालन गर्न पाइने क्षेत्रहरु :
स्वास्थ्य सेवासँग सबन्धित सबै सेवा र निजी क्लिनिकहरु पहिलेदेखि नै खुल्न थालेका छन् । यस्तै औषधि, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफुल, दुग्धपदार्थ, अण्डा, माछा, मासु, खानेपानी उत्पादन, बिक्री वितरण तथा ढुवानी सुरु भएको छ ।
पेट्रोलियम पदार्थको ढुवानी र बिक्री वितरण फोहरमैला व्यवस्थापन, विद्युत्, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सेवा, बैंक तथा वित्तीय संस्था, सहकारी र बीमा सेवा, सबै प्रकारका कृषि तथा पशुपंक्षी पालनसम्बन्धी काम, कृषि बीउ बिजन, रासायनिक मल, कृषि औजार र शीतभण्डारसम्बन्धी सेवा तथा काम खुलेका छन् ।
यस्तै उत्पादनशील उद्योग, निर्माण सामग्रीसम्बन्धी उद्योग व्यवसाय, निजी क्षेत्रबाट प्रवर्द्धितसहित विकास आयोजना, निर्माणको काम, नदी तथा खानीजन्य पदार्थ उत्खनन, सङ्कलन, ढुवानी र बिक्री वितरणलगायत काम पनि सुरु भएका छन् । रेस्टुरेन्टबाट हुने प्याकिङ तथा टेकअवे सेवा, क्वरेण्टीनका लागि तोकिएका होटलहरु पनि खुलेका छन् ।
यस्तै बिजुलीका सामान बिक्री र मर्मत, विद्युतीय उपकरण, मेसिनरी र सवारी साधन मर्मत गर्ने वर्कशप, पुस्तक पसल तथा स्टेशनरी, सबै प्रकारका ढुवानी सेवा, अत्यावश्यक सेवाका कार्यालय र अन्य सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू पनि खुलेका छन् । गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरूमा पहिलो चरणमा ५० प्रतिशत मात्रै कर्मचारी रहनुपर्ने व्यवस्था गरिएको छ ।
सरकारी र निजी कार्यालय दुई सिफ्टमा सञ्चालन हुने
सरकारले सरकारी तथा निजी कार्यालय र बैंक, वित्तीय संस्थाका कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।कोरोना महामारी रोकथामका लागि सुरक्षात्मक उपाय अपनाउन र कर्मचारीबीच दूरी कायम गर्न कार्यालय दुई सिफ्ट चलाउने निर्णय बुधबारको मन्त्रिपरिषद बैठकले गरेको हो ।असार १ गतेदेखि सबै सरकारी, निजी र बैंक तथा वित्तीय संस्थाका कार्यालय विहान ८ बजेदेखि १ बजेसम्म र १ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछन् ।आर्थिक वर्षको अन्तिम समय भएकाले धेरै काम हुने र कार्यालयमा पनि भौतिक दूरी कायम गर्नुपर्ने भएकाले दुई सिफ्टमा सञ्चालन गर्न लागिएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा। युवराज खतिवडाले जानकारी दिए ।सरकारले चैत ११ गते लकडाउन सुरु गरेदेखि अत्यावश्यक सेवाबाहेक अन्य सरकारी कार्यालय बन्द थिए ।
तत्कालका लागि बन्द हुने क्षेत्रहरु :
सरकारले तत्कालका लागि विद्यालय, कलेज, ट्युशन सेन्टरलगायत शैक्षिक संस्था नखोल्ने निर्णय गरेको छ । यस्तै भिडभाड बढी हुने खाद्य पदार्थबाहेक सपिङ मल, डिपार्टमेन्ट स्टोर्सलगायत क्षेत्रमा पनि बन्देज लगाइएको छ । लकडाउनको नयाँ मोडालिटी लागू भए पनि सिनेमा हल, पार्टी प्यालेस, डान्सबारलगायत सबै मनोरञ्जनस्थल बन्द रहनेछन् ।
यस्तै अनुमति प्राप्तबाहेकका अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान, तोकिएबाहेकका अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवत जावत, सबै प्रकारका महोत्सव, जात्रा, मेला, सभा, सम्मेलन, प्रदर्शन ,२५ जनाभन्दा बढी सहभागी हुने बैठक, गोष्ठी, तालिम, सेमिनार, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल, स्विमिङ पुल, जिमखाना, साउना, स्टिमलगायत बन्द हुनेछ ।
मसाज सेन्टर, सैलुन, ब्युटी पार्लर खेलकुद प्रतियोगिता र खेल मैदानमा हुने प्रस्तुति, पहिलो चरणमा खुल्ने भनी तोकिएका बाहेक अन्य सबै गाडीहरु र बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म एम्बुलेन्स, दमकल, शव वाहन र ढुवानीबाहेक सबै प्रकारका आवागमन बन्द हुने सरकारले जनाएको छ ।
दोस्रो चरणमा खोलिने क्षेत्र :
२१ दिनपछिको दोस्रो चरणमा सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थामा ७५ प्रतिशत कर्मचारी रहने गरी खुला गरिनेछ ।
यस्तै एक लहरमा एक जना यात्रु मात्र बस्ने गरी विद्युतीय रिक्सा चलाउन दिइनेछ । ट्याक्सीमा चालकबाहेक थप दुई जना रहनेग सञ्चालन गर्न पाइनेछ । रेस्टुरेन्ट तथा खाजाघर व्यक्ति व्यक्तिबीच कम्तीमा दुई मिटरको भौतिक दुरी कायम गरेर खोल्न पाइनेछ ।
तेस्रो चरणमा खोलिने क्षेत्र :
दोस्रो चरण १५ दिनसम्म लागू भएपछि सरकारले फेरि कोरोना भाइरस सङ्क्रमणको स्थिति मूल्याङ्कन गरेर स्थिति अनुकूल रहेमा थप १५ दिनको लागि तेस्रो चरण लागू गर्नेछ ।
तेस्रो चरण अन्तर्गत सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय खुला गर्न दिने सरकारको रणनीति छ । यस्तै सङ्क्रमणको जोखिम विश्लेषण गरी एक सयभन्दा कम सक्रिय केस भएमा अन्तर जिल्ला आवागमन खुला गरिनेछ । सिट क्षमताको आधा व्यक्ति रहने गरी सबै प्रकारका गाडीहरु तेस्रो चरणमा सञ्चालन गर्न दिइनेछ ।
यस्तै आन्तरिक हवाई उडान, होटल, लज, रिसोर्ट, ट्राभल एजेन्सी, पदयात्रा, पर्वतारोहण अन्तर्राष्ट्रिय हवाई उडानको बुकिङ, परीक्षा प्रयोजनका लागि मात्रै शिक्षण संस्था तालिम तथा ट्युशन केन्द्रहरु खुलाइने सरकारले जनाएको छ ।
तेस्रो चरणको लकडाउनको मोडालिटीको अवस्था हेरेर जनस्वास्थ्यको मापदण्ड पालना गरी सबै व्यवसाय तथा कार्यहरु सञ्चालन गर्ने सरकारको तयारी छ ।















प्रतिक्रिया दिनुहोस्