मोडालिटी तयार, लकडाउन पाँच चरणमा खोल्ने प्रस्ताव, मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं , जेठ २८ ।आज मन्त्रिपरिषद बैठक बस्ने भएको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि नेपालभर लकडाउन घोषणा गरिएको छ ।

लामो समयदेखिको लकडाउनले धेरैको जीविकोपार्जनमा समस्या भएपछि अब लकडाउनलाई क्रमशः खुकुलो बनाउने नीति सरकारले लिएको छ ।

बैठक ५ बजेलाई सरेको छ । यसअघि दुई बजेलाई तय भएको बैठक साँझ पाँच बजेलाई सरेको एक मन्त्रीले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले जनजीवन सहज बनाउन लकडाउनको मोडालिटी हेरफेर गरिने संकेत अघि नै सदनमा गरिसकेका छन् ।

उनले लकडाउनलाई कायमै राखिने र जनजीवन सहज बनाउन मोडालिटी हेरफेर गरिने बताएका थिए ।

यसैबीच स्रोतका अनुसार सरकारले पाँच चरणमा लकडाउन खोल्ने प्रस्ताव तयार पारेको छ । कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर ९सीसीएमसी०ले पाँच चरणको प्रस्ताव तयार पारेको छ । मन्त्रिपरिषद्लाई यसअघि नै उपलब्ध गराएर प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गरिएको प्रस्तावमा पाँच चरणमा लकडाउन खोल्न सकिने बताइएको छ ।

सीसीएमसीले प्रस्ताव गरेको मोडालिटी, जसलाई उनीहरूले जर्जिया मोडालिटी भनेका छन्, त्यसमा पहिलोे चरणमा असार १ गतेदेखि निजी कार, एवम् ट्याक्सी सेवा, डेलिभरी सर्भिस, ओपन एयर मार्केट, कृषि क्षेत्र खुला गर्न प्रस्ताव गरिएको छ ।

स्रोतका अनुसार ४० प्रतिशत यात्रु राखेर आन्तरिक उडान सुरु गर्न सकिने सीसीएमसीको मोडालिटी छ ।

दोस्रो चरण असार १५ गतेदेखि निर्माण क्षेत्र खुला गर्न प्रस्ताव गरिएको छ । दोस्रो चरण नाम दिएको यो अवधिमा निर्माण सामग्रीको उत्पादन, कार वास सेन्टरहरू, अटो सर्भिससँग सम्बधित सम्पूर्ण सेवा सुचारु गर्न सकिने सीसीएमसीको प्रस्ताव छ । तेस्रो चरण, असार २९ गतेदेखि सपिङ मलबाहेकका खुद्रा एवम् होलसेल, प्रकाशन गृहहरू, खुला बजार क्षेत्र ९भृकुटी मण्डप, कालिमाटी तरकारी बजार जस्ता स्थानहरू पूर्णतः खुला गर्न सकिने प्रस्ताव छ ।

चौथो चरण, साउन १२ गतेदेखि सपिङ मल, रेस्टुराँ, बैंक, एवम् वित्तीय सेवा, ब्युटि सैलुन आदि खोल्न प्रस्ताव गरिएको छ । पाँचौं चरण, साउन २६ गतेदेखि क्याटरिङ, पार्टी प्यालेस, धार्मिक क्षेत्र, अनसाइट रेस्टुराँ एवम् होटलसँग जोडिएका सेवा क्षेत्र खोल्न प्रस्ताव गरिएको सीसीएमसी स्रोतले बताएको छ ।

त्यसपछि संक्रमणको लकडाउनलाई अन्त्य गर्न सुझाव दिइएको छ । तत्पश्चात् मनोरञ्जन, खेल, होटल र शैक्षिक संस्था खुला गर्न प्रस्ताव गरिएको सीसीएमसीका एक सदस्यले जानकारी दिए । मन्त्रिपरिषद्ले यही प्रस्तावलाई आज कार्यरूप दिने सीसीएमसी स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्