लकडाउनको ७४ औं दिन : खुकुलो बनाउन सांसदको सुझाव

काठमाडौं , जेठ २३ । राष्ट्रियसभा सदस्यहरुले तत्काल लकडाउन खुकुलो बनाउन सरकारलाई सुझाव दिएका छन् ।७४ दिनदेखिको बन्दाबन्दीले मुलुकको जनजीवन प्रभावित हुनाका साथै समग्र अर्थतन्त्रमा नकारात्मक असर परेको जनाउँदै सांसदले त्यसको स्वरुप परिवर्तन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबारको बैठकमा सांसदहरुले लकडाउन स्वतःस्फुर्त रुपमा उलंघन हुन थालेको भन्दै लकडाउनको मोडल परिवर्तन गर्न र जोखिम कम भएको क्षेत्रमा खुकुलो बनाउन सुझाव दिएका हुन् ।

‘लकडाउनको अवधारणालाई तत्काल चेञ्ज गर्न जरुरी छ । लकडाउनको कारणले आर्थिक जनजीवन र रोजगारसँग जोडिएको क्षेत्र असाध्यै अप्ठ्यारोमा परेको अवस्था छ’ सांसद गोपीबहादुर सार्कीले भने ।

सांसदहरु जितेन्द्रनारायण देव, भगवती न्यौपानेलगायतले पनि निश्चित नियम बनाएर लकडाउनको मोडालिटी परिवर्तन गर्नुपर्ने बताए ।सांसद देवले स्वास्थ्य र आर्थिक महामारीको सामना गर्न सबैको राय सुझाव लिन र सबै निकायलाई परिचालन गर्न सरकारलाई आग्रह गरे ।

सांसद भगवती न्यौपानेले लकडाउनको अवधिमा उपचार नपाएर ५८ जना सुत्केरी र गर्भवती महिलाको मृत्यु भएको सुनिएको भन्दै सरकारसँग आधिकारिक जानकारी माग गरिन् ।सुत्केरी र गर्भवती महिलाको उपचारका लागि राष्ट्रिय आपतकालीन कोष निर्माण गर्न पनि उनले सुझाव दिइन् ।

सांसद हरिराम चौधरीले क्वारेन्टिन स्थल व्यवस्थित बनाउन र आइसोलेसन बेडको पर्याप्त व्यवस्था गर्न माग गरे । सांसद कविता बोगटीले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा कोभिड परीक्षण दायरा बढाउन सरकार समक्ष माग गरिन् । उनले सुदूरपश्चिम र कर्णाली प्रदेशमा जकडिएको छाउपडी प्रथा नियन्त्रणका लागि केन्द्रीय सरकारले कडा कानून ल्याइनुपर्ने सुझाव पनि दिइन् ।

सांसद मायाप्रसाद शर्माले कर्णाली प्रदेशका विभिन्न जिल्लामा पिसिआर प्रविधिबाट परीक्षण बढाउन माग गरे । उक्त क्षेत्रमा क्वारेन्टिनलाई थप व्यवस्थित गरी परीक्षणलाई सहज तुल्याउन पनि उहाँले सरकारको ध्यानाकर्षण गराए ।

विशेष समयमा अधिकांश सांसदले रुकुम ९पश्चिम० घटना अमानवीयताको पराकाष्ठा भएको जनाउँदै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी कारवाहीको माग गरेका थिए ।कोभिड–१९ को महामारी नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि देशभर बन्दाबन्दी शुरु गरेको थियो । पछिल्लो पटक बन्दाबन्दीको समयावधि जेठ मसान्तसम्म कायम गरिएको छ । मुलुकभित्रका आन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडान स्थगन गरिएको छ । आगामी असार १६ गतेसम्म उडान स्थगन गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्