उच्च अदालतका चार मुख्य न्यायाधीशले लिए शपथ

काठमाडौ ।   प्रधानन्यायाधीश गोपाल पराजुलीले उच्च अदालतका लागि नवनियुक्त चार जना मुख्य न्यायाधीशलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन्।

सर्वोच्च अदालतमा आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश पराजुलीले उच्च अदालतका नवनियुक्त चार जना मुख्य न्यायाधीश नहकुल सुवेदी, उदयप्रकाश चापागाई, यज्ञप्रसाद बस्याल र हरिकुमार पोखरेललाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्। न्याय परिषद्ले गत पुस २० गते रिक्त रहेका ४ मुख्य न्यायाधीशमा नियुक्तिको सिफारिस गरेको थियो।

न्यायपरिषद्ले नियुक्तिको सिफारिस गर्दै नवनियुक्त मुख्य न्यायाधीश नहकुल सुवेदीलाई उच्च अदालत तुलसीपुरमा पदस्थापनका लागि सिफारिस गरेको थियो। सुवेदी यसअघि सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा कार्यरत थिए।

यस्तै उच्च अदालत जनकपुरमा कार्यरत न्यायाधीश उदयप्रकाश चापागाईलाई जनकपुरकै उच्च अदालतको मुख्य न्यायाधीशमा सिफारिस गरेको थियो। उच्च अदालत जनकपुर, विरगञ्ज इजलासमा कार्यरत न्यायाधीश यज्ञप्रसाद बस्याललाई उच्च अदालत दिपायलको मुख्य न्यायाधीशमा सिफारिस गरेको थियो।

र, उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा कार्यरत न्यायाधीश हरिकुमार पोखरेललाई उच्च अदालत सुर्खेतको मुख्य न्यायाधीशमा सिफारिस गरेको थियो।

प्रतिक्रिया दिनुहोस्