लामो समय लकडाउन हुँदा जनजीवन प्रभावित , संक्रमित थपिने क्रम बढ्दो रुपममा

काठमाडौं, जेठ १४ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको लकडाउनको आज ६५ दिन पुगेको छ ।

सरकारले गत चैत ११ गते यता जारी गरेको लकडाउन जेठ २० गते सम्मका लागि लम्ब्याएको छ । लामो समय लकडाउन हुँदा जनजीवन प्रभावित भएपनि लकडाउनको पालना भने भएको छ । काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा सवारी साधनको आवागमन न्यून छ । अत्यावश्यक सेवाका सवारीसाधन, सञ्चारकर्मी, स्वास्थ्यकर्मी लगायत प्रशासनबाट पास लिएकाहरुको सवारी साधन भने सञ्चालनमा आएका छन् ।

प्रहरीले सवारीसाधनको जाँचलाई कडाई पारेको छ । अत्यावश्यक सेवा र पास बाहेकपनि सवारी चलाउनेलाई नियन्त्रणमा लिई कारबाही गरेको देखिन्छ । पछिल्लो समय कोरोना भाइरस संंक्रमणको संख्या बढ्दै जाँदा सरकारले लकडाउनलाई थप कडाइ गरेको छ ।

उपत्यकाका मुख्य सडक बाहेक भित्रि सडकमा पनि लकडाउनको पालना भएको पाइएको छ । खाद्यान्न तथा तरकारीका पसलहरु बिहान र साँझको समयमा खुल्ने गरेका छन् । मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर खाद्य सामग्री किनमेल गर्ने गरेका छन् ।

नेपालमा अहिले सम्म कुल संक्रमितको संख्या ७ सय ७२ रहेको छ । यस्तै यो अवधिसम्म १ सय ५५ जना निको भएका छन् भने चार जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्