१४ जना स्वास्थ्यकर्मी क्वरेण्टीनमा

काठमाडौं, जेठ १३ । जिल्ला अस्पताल गुलरियाका १४ जना स्वास्थ्यकर्मी लाई क्वरेण्टीनमा राखिएको छ । क्वरेण्टीनमा बसेको एक युवकमा कोरोना देखिएसँगै १४ जनालाई क्वरेण्टीनमा राखिएको हो ।

गुलरिया १ खैरापुरको क्वरेण्टीनमा बसेका १८ वर्षीय युवकलाई ज्वरो आएपछि उपचारको लागि जिल्ला अस्पतालमा लगिएका बेला उनको कोरोना पोजेटिभ रिपोर्ट आएको हो । ती युवक भारतको बेङ्गलोरबाट आएका थिए ।

स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरीक्षक कृष्णगोपाल चौधरीले स्वास्थ्यकर्मीको आजै स्वाब सङ्कलन गर्ने तयारी भइरहेको बताउनुभयो । अहिलेसम्म दुई सय दुई जनाको रिपोर्ट दाङबाट आउन बाँकी छ । पछिल्लो समय बर्दियाबाट स्वाब सङ्कलन गरी दाङ पठाइएको थियो । राजापुरबाट थप ६५ जनाको सोमबार स्वाब सङ्कलन गरिएको छ ।

पोजेटिभ रिपोर्ट आएसँगै कोरोना सङ्क्रमित युवासँग सम्पर्कमा रहेका १४ जना स्वास्थ्यकर्मीलाई क्वरेण्टीनमा राखेर अस्पताल सिल गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए ।

प्रतिक्रिया दिनुहोस्