स्वावलम्बन लघुवित्तद्वारा स्थानीय निकायलाई थप सहयोग र ग्राहक कर्जामा ३ प्रतिशत व्याज छुट

 

काठमाडौं, वैशाख ३०। स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. ले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सातवटै प्रदेशमा रहेका शाखा/उपशाखा कार्यालय मार्फत १५० वटा स्थानीय निकायलाई रु.१० लाख आर्थिक सहयोग उपलब्ध गराएको छ । संस्थाले यस अघि संघीय सरकारले स्थापना गरेको कोषमा २५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको थियो ।

संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संक्रमण बढि देखिएका जिल्लाहरु उदयपुर, कपिलबस्तु, रुपन्देही, बाँके, सुनसरी, पर्सा, सप्तरी लगायत जिल्लाका स्थानीय तहमा पहिलो चरणमा चेक हस्तान्तरण गरेको छ । संस्थाले आफ्ना शाखा/उपशाखा कार्यालय मार्फत क्रमशः सहयोग रकम हस्तान्तरण गर्दै जाने भएको हो । साथै, संस्थाले ग्राहक सदस्यलाई आ.व. २०७६/७७ को चौथो त्रयमास २०७७ बैशाखदेखि २०७७ आषाढ मसान्तसम्म कर्जामा ३ प्रतिशत ब्याज समेत छुट गरेको छ ।

देशमा कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थितिमा सो को संक्रमण रोकथाम, नियन्त्रण, उपचार का साथै न्यून आय भएको साथै अप्ठ्यारोमा परेको वर्ग,समुदायलाई दैनिक उपभोग्य सामग्री वितरणमा सहयोग पुग्ने विश्वास लिई आर्थिक सहयोग रकम उपलब्ध गराएको हो ।

यस संस्थाले ग्राहक संरक्षण र संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत समय समयमा ग्राहक तथा समुदायको हितका लागि विभिन्न कार्यक्रम तथा प्राकृतिक विपद् व्यवस्थापका लागि विभिन्न राहत प्याकेजहरु उपलब्ध गराउँदै आएको छ ।

राष्ट्रिय स्तरको कार्यक्षेत्र रहको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.ले हाल ६१ जिल्लामा रहेका १४० वटा शाखा कार्यालय मार्फत २ लाख ५० हजार सदस्य तथा परिवारलाई प्रत्यक्ष लघुवित्त सेवा तथा विभिन्न गैर वित्तीय, दक्षता अभिवृद्धि लगायतका सेवा प्रदान गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्