नेपाल-भारत सीमा: लिपुलेकमा भारतद्वारा निर्मित सडकप्रति नेपाल सरकारको कडा आपत्ति

काठमाडौं , बैशाख २७ । भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएकोमा नेपाल सरकारले आपत्ति जनाएको छ । भारतको यस्तो कदमले नेपाललाई दुःखित तुल्याएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।

तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने लिंक रोडको भारतले शुक्रबार उद्घाटन गरेको थियो । यसको नेपालमा विरोध भइरहेको छ ।
सन् १८१६ को सुगौली सन्धीअनुसार काली ९महकाली० नदीको पूर्वपट्टी रहेको लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि रहेको सरकारले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ ।

‘यो तथ्यलाई नेपाल सरकारले विगतमा निरन्तर दोहोर्याउँदै आएको छ र पछिल्लो पटक नयाँ राजनीतिक नक्सा जारी भएको सन्दर्भमा भारत सरकारलाई पठाइएको कुटनीतिक नोटमार्फत सन् २०१९ को नोभेम्बर २० मा पनि पुनः अवगत गराइएको थियो,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सीमा विवादको सम्बन्धमा नेपाल सरकारले परराष्ट्र सचिवस्तरमा दुई पटक द्विपक्षीय छलफलका लागि प्रस्ताव गरे पनि भारतले कुनै जवाफ नदिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

नेपाली भूमीमा कुनै पनि गतिविधि नगर्न आग्रह गरिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्