नेपाली भूमीमा भारतले बनायो सडक: नेपालमा चौतर्फी विरोध , सरकार किन मौन ?

काठमाडौं , बैशाख २७ । विश्वले कोरोना भाइरसको सामना गरिरहेका बेला यता भारतले फेरि नेपालमा झनै पीडा थपिदिएको छ । भारतले नेपालको दार्चुलाको लिपुलेक हुँदै तिब्बतको मानसरोवर जाने सडक मार्गको उदघाटन गरेसँगै यति बेला नेपाली जनतामा निराशा छाएको छ ।

यसरी आफ्नो देशको भुमी अर्को देशले मिच्दा कसको मनपो नरोला र , यसरी भारतले नोपल संग सल्लहा र जानकारी नदि एकाएक सडकको उदघाटन गर्दा अहिले नेपाली जनता फेरि सडकमा आएका छन् । साथै यसको नेपालका विभिन्न दल तथा नेताहरुले विरोध गरेका छन् । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले तत्काल कूटनीतिक तहबाट समस्याको हल खोज्न आग्रह गरेका छन् ।

त्यस्तै पूर्व परराष्ट्रमन्त्री कमल थापाले पनि यस सम्बन्धमा सरकारले अबिलम्ब कदम चाल्नुपर्नेमा जोड दिएका छन् । पूर्व परराष्ट्रमन्त्री डाक्टर प्रकाशचन्द्र लोहनीले सरकार मौन बसेको भन्दै आलोचना गरेका छन् । पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले सरकारले तत्काल पत्र लेखेरै त्यो रोक्न भन्नुपर्ने बताएका छन् ।

सत्तारुढ नेकपाका प्रवक्ता तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले अतिक्रमणविरुद्ध तुरुन्त कदम चाल्न सरकारलाई आग्रह गरेका छन् । उनले भारतले अनधिकृतरुपमा कब्जा गरेको र आफैंले समेत विवादित भनी स्वीकार गरेको पश्चिम सीमा क्षेत्रको नेपाली भूमिमा सडक बनाएको भन्दै उनले आपत्ति जनाएका हुन् ।

नेकपाका केन्द्रीय सदस्य विष्णु रिजाले पनि सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने र कूटनीतिक माध्यमबाट सुल्झाउन पहल थाल्नुपर्ने बताएका छन । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले यस प्रकरणमा सरकारको धारणा माग गरेका छन् ।

कांग्रेस नेता गगन थापाले अतिक्रमण र मिचाहा प्रवृत्तिको प्रतिवाद गर्न सरकारलाई आग्रह गरेका छन् । नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डे, राजनीति शास्त्री कृष्ण पोखरेलले भारतले कब्जा गरेको आफ्नो भूमि बचाउन सरकारसँग योजना नभएको गुनासो गरेका छन् ।

साझा पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका दलले विज्ञप्ति निकालेर नेपाली भूमि लिपुलेकबाट भारत फर्कनुपर्ने बताएका छन् । यस सम्बन्धमा सरकारले भने अहिलेसम्म औपचारिक धारणा सार्वजनिक गरेको छैन ।

विरोधमा माइतीघरमा प्रदर्शन

भारत सरकारले नेपाली भूमि लिपुलेक र कालापानीमा सडक बनाएको विरोधमा युवा विद्यार्थीले काठमाडौको माइतीघरमा प्रदर्शन गरेका छन् । भारत सरकारको उक्त कदम विरुद्ध प्रदर्शन गर्न माइतीघर पुगेका युवा विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो ।

नाराबाजी गर्दै माइतीघर पुगेका युवालाई त्यहाँ नपुग्दै प्रहरीले पक्राउ गरेको थियो । उनीहरुले भारतीय विस्तारबाद मुर्दावाद, लिपुलेक हाम्रै हो भन्दै नाराबाजी गरेका थिए ।

यस्तै भारतीय दुतावास अगाडी प्रदर्शनका लागि पुगेका विद्यार्थीलाई पनि प्रहरीले पक्राउ गरेको छ । लैनचौरमा रहेको दुतावास अगाडी प्लेकार्ड सहित प्रदर्शन गर्न पुगेका सत्तारुढ दल नेकपा निकट विद्यार्थी संगठनका नेताहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

भारतले अहिले मात्र होइन पटक पटक नेपाली भुमी मिच्ने प्रयास गरिरहेको छ । दुख त के भने यसरी आफ्नो भुमी मिचीदा नेपाल सरकार मौन बसेको भन्दै अहिले सरकारको पनि आलोचना भइरहेको छ भने यस विषयमा पहल गर्न दबाब दिन थालीएको छ ।

प्रतिक्रिया दिनुहोस्