गभर्नर अधिकारी भन्छन्- बैंकको ब्याज मिनाहा हुँदैन, आगामी वर्ष अर्थतन्त्रका लागि निकै चुनौतिपूर्ण

काठमाडौं, बैसाख २३। लामो समयको लकडाउनले व्यवसाय बन्द हुँदा बैंकको ऋणमा सहुलियता माग भइरहेका बेला गभर्नर महाप्रसाद अधिकारीले बैंकको ऋणमा सहुलियत दिन नसकिने बताएका छन् ।

गभर्नर अधिकारीले व्यवसायीको माग अनुसार बैंकबाट लिएको ऋणको ब्याज मिनाहा गर्न नसकिने स्पष्ट पारेका हुन् । मंगलबार अर्थ समितिको बैठकमा आगामी मौद्रिक नीतिसम्बन्धी छलफलमा सहभागी उनले ब्याज मिनाहाको माग आए पनि कार्यान्वयन गर्न सम्भव नभएको बताएका हुन् ।

‘ब्याज मिनाहको माग त आउँछ । आइरहेको पनि छ । तर त्यो सम्भव छैन,’ उनले भने । व्यवसायीले तिर्नुपर्ने ऋणको भाका सार्न भने सकिने गभर्नर अधिकारीले बताएका छन् । उनले थपे, ‘अहिले ब्याज तिर्नपर्ने तनावमा नपर्नुहोस् । भोलि त तिर्न परिहाल्छ । अहिलेलाई समय सार्ने, व्यवसायमा अप्ठेरो नपरोस् भन्नेमा छौं’, उनले भने ।

बैठकमा सांसदहरुले नेपालमा बैंक ब्याजदर बढी रहेको भन्दै कम गर्नुपर्ने बताएका थिए । जवाफमा गभर्नर अधिकारीले विकसित देशमा भन्दा अल्पविकसित देशमा ब्याजदर बढी नै हुने बताए ।

उनले वित्तीय क्षेत्रबाट धेरै ऋण लिनेमा ठूला व्यवसायी नै बढी रहेको समेत बताएका छन् । सांसदहरुको प्रश्नमा गभर्नर अधिकारीले पाँच करोडभन्दा बढी ऋण लिनेहरु ३६ प्रतिशत र ५० लाखभन्दा थोरै लिने ३४ प्रतिशत रहेको बताए ।

बैठकमा उनले अर्को वर्ष रेमिट्यान्स र राजश्वका स्रोतहरु घट्दा अर्थतन्त्र अप्ठेरोमा पर्न सक्ने विषयलाई समेत ख्याल गरी मौद्रिक नीति बनाउनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्