विप्लव इलाम जिल्ला इञ्चार्जसहित तीन जना विस्फोटक पदार्थसहित पक्राउ
काठमाडौं , बैशाख २३ । नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपाका इलाम जिल्ला इञ्चार्जसहित तीन जना इलाममा पक्राउ परेका छन् ।
इलामको माई नगरपालिका–९ मा इञ्चार्ज पुष्प कोइरालासहित दुई कार्यकर्ता जनम भनिने पासाङ्ग शेर्पा र सौरभ भनिने पासाङ्ग तामाङ्गलाई विस्फोटक पदार्थ सहित पक्राउ गरिएको हो ।
इञ्चार्ज कोइरालासँगै ताप्लेजुङ लिकुखोला घर भएका २४ वर्षीय शेर्पा र उदयपुरका १९ वर्षीय तामाङलाई नेपाल प्रहरीको विशेष सुराकीको आधारमा शसस्त्र प्रहरीसमेतको टोलीले सोमबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
उनीहरूको साथबाट विष्फोटक पदार्थ तथा त्यसका लागि प्रयोग हुने सामग्री बरामद भएको जिल्ला प्रहरी कार्यलय इलामका प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिनु भयो ।
उहाँका अनुसार, उनीहरुको साथबाट विष्फोटक पदार्थ डिटोनेटर १९ थान, प्रेसरकुकर बम एक थान, ग्रिनेड एक थान, टुकी बम एक थान, पाइपमा फिट गरिएको बम एक थान, डेथ कर्ड ६७ फिट, बम विष्फोटमा प्रयोग हुने मिटर र रिमोट चार थान, विभिन्न प्रकारका विस्फोटक पदार्थ, चक्कु तथा दस्तावेजहरु फेला पारिएको छ ।
पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय इलाममा राखी थप अनुसन्धान भइरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्