महत्वपूर्ण क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनालाई , सीमाको सुरक्षामा सशस्त्र र नेपाल प्रहरीलाई
काठमाडौं , बैशाख २२ । सरकारले महत्वपूर्ण क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका सशस्त्र र नेपाल प्रहरीलाई सीमाको सुरक्षामा खटाउने निर्णय गरेको छ ।
कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न समस्यालाई ध्यानमा राखेर सरकारले सुरक्षाकर्मीको खटनपटन परिवर्तन गरेको हो ।नयाँ व्यवस्था अनुसार सेनालाई सुरक्षाको जिम्मा दिएर प्रहरीलाई सीमा क्षेत्रमा खटाइने भएको छ ।
कारागार, विकास निर्माण आयोजनालगायतका महत्वपूर्ण संरचनाको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइनेछ ।सुरक्षा समितिको हिजोको बैठकमा यससम्बन्धी प्रक्रिया अगाडि बढाउने निर्णय भएको मन्त्रालयले जनाएको छ ।
कोरोनाले निम्त्याएको समस्या निराकरणका लागि सीमा क्षेत्रमा थप कडाइ गर्ने उद्देश्यले सो निर्णय गरिएको हो ।बैठकमा गृहमन्त्री रामबहादुर थापाले कोरोना संक्रमणको केन्द्र चीन, युरोप, अमेरिका हुँदै अब दक्षिण एशियातर्फ बढ्न लागेकाले खुला सीमाना रहेको कारण नेपालले अब विशेष सावधानी अपनाउन आवश्यक रहेको बताए ।
उनले सीमामा थप कडाइ गर्न र रातको समयमा थप गस्ती बढाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।सीमावर्ती जिल्लामा सुरक्षाकर्मीको समन्वयमा सबै वडास्तरमा समुदायको सहयोगमा स्वयंसेवक परिचालन कमिटी गठन गरी सीमाबाट हुने अवैध प्रवेशलाई निरुत्साहित गर्ने कार्यक्रम बनाइने भएको छ ।
सीमामा खटिएका सुरक्षाकर्मीका लागि आवश्यक स्रोतसाधनको व्यवस्थापनका लागि मन्त्रालयले प्रक्रिया अघि बढाएको बैठकमा जानकारी गराइएको छ ।
यसअघि मन्त्रालयले सीमावर्ती जिल्लामा १४ हजार सुरक्षाकर्मीलाई बढाएर २२ हजार पाँच सय पुर्याएको थियो ।














प्रतिक्रिया दिनुहोस्