अध्यक्ष प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं , बैशाख १९ । कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले भेटवार्ता गरेकी छन्।

प्रचण्ड निवास खुमलटारमा शुक्रबार भएको भेटवार्तामा कोरोनाभाइरस रोकथामका लागि भइरहेको प्रयासबारे कुराकानी भएको छ ।

भेटमा प्रचण्डले चीनले गरेको सहयोगको धन्यवाद भन्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको प्रचण्डको सचिवालयले जनाएको छ । जवाफमा राजदूत यान्छीले चीन नेपाललाई आवश्यक सहयोग गर्न तयार रहेको बताएकी थिइन् ।

चीनले नेपाललाई कोरोेना रोकथाम तथा उपचारका सहयोग उपलव्ध गर्दै आएको छ । पछिल्लो पटक नेपाली सेनाले जिटुजी प्रक्रियाबाट ३ सय ४१ टन औषधि ल्याउने सम्झौतामा हस्ताक्षर गरिसकेको छ भने चीनका विभिन्न सामाजिक संस्था र व्यापारिक घरानाले पनि स्वास्थ्य सामग्री सहयोग दिदै आएका छन् ।

कोरोनाभाइरस रोकथामका लागि सहयोग गर्न आग्रह गर्दै अध्यक्ष प्रचण्डले चिनियाँ राष्ट्रपति सि चिनफिङलाई पत्र नै पठाएका थिए।

यसैबीच राजदूत यान्छीले नेकपा वरिष्ठ नेता माधव कुमार नेपालसँग पनि भेट गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्