कालोबजारी आरोप लागेका व्यवसायी सुलभ अग्रवाल भए २५ लाख धरौटीमा रिहा
काठमाडौं , बैशाख १८ । ज्वरो नाप्ने थर्मल गन कालोबजारी आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाल २५ लाख धरौटीमा रिहा भएका छन् । बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश बज्रेस प्याकुर्यालको इजलासले व्यवसायी अग्रवाललाई २५ लाख ५० हजार धरौटीमा रिहा गरेको हो ।
अदालतले तत्काल निर्दोष हुन भन्न सक्ने अवस्था नदेखिएको र पछि ठहर भए बमोजिम निर्णय गर्ने भन्दै पुर्पक्षका लागि तारेखमा राखेर रिहा गर्न आदेश दिएको हो ।
चैत २५ गते अग्रवाल ३५ सय पर्ने थर्मल गन १५ हजारमा बिक्री गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।
शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालले १२ सय थर्मल गनको मात्र भन्सार तिरेको पाइएको थियो। चीनबाट २० हजार वटा ल्याएको प्रहरीले सुराक पाएमध्ये बाँकी भने सामाजिक कामका लागि देखाइएको स्रोतले बताएको थियो ।
भन्सार तिरेर ल्याएको सामानको मात्र व्यापार गर्न पाइन्छ। सामाजिक काममा ल्याइएका भनिएका वस्तु बेच्न पाइन्न। भन्सारको विवरणअनुसार शंकर ग्रुपले ३ हजार थान टेस्ट किट, केही मास्क, पाँच सय थान पीपीई र १२ सय थान थर्मल गनलाई व्यापारिक प्रयोजनमा देखाएर भन्सार तिरेको छ। बाँकी भने ‘सेटिङ’ मा छिराएर अत्यधिक बढी मूल्यमा बेचेको पाइएको थियो।
टेस्ट किट र थर्मल गनको भन्सार महसुल ५ प्रतिशत र मूल्य अभिवृद्धिकर १३ प्रतिशत लाग्छ। मास्कमा १० प्रतिशत भन्सार महसुल लाग्छ भने पीपीईमा २० प्रतिशत महसुल र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्छ ।
कीर्गिस्तानमा अवैतानिक महावाणिज्य दूतसमेत रहेका अग्रवालले कालोबजारी गर्ने क्रममा कूटनीतिक नियोगको गाडी प्रयोग गरेको पाइएको थियो। उनको साथबाट २०९ एचसीसी १ नम्बरको गाडी प्रहरीले बरामद गरेको थियो।
सरकारले स्वास्थ्य सामग्री झिकाउन ठेक्का सम्झौता गरेको ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनलको सामानसहित केही अनुदानित सामग्री ल्याउन नेपाल सरकारले नेपाल वायु सेवा निगमको जहाज चार्टर गरेर ग्वान्जाओ पठाएको थियो। त्यही विमानमा निजी क्षेत्रले खरिद गरेका सामानसमेत ल्याइएका हुन्। शंकर ग्रुपले पनि त्यही चार्टर जहाजमा सामान ल्याएको हो।











प्रतिक्रिया दिनुहोस्