मन्त्रिपरिषद् बैठक आज बस्दै, लकडाउन एक साता थप्ने तयारी

काठमाडौं , बैशाख १४ । मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको उच्चस्तरीय कार्यदलले थप एक साता लकडाउन बढाउन सिफारिस गरेपछि आवश्यक निर्णय गर्न मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।

बैठकले कार्यदलले सिफारिस गरेको आधारमा लकडाउन बढाउने तयारी गरेको छ ।यसका लागि दिउँसो २ मन्त्रिपरिषद् बैठक आह्वान गरिएको एक मन्त्रीले जानकारी दिए ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन भन्दै सरकारले चैत्र ११ गतेदेखि तीन पटकसम्म थपेको लकडाउन सोमबार सकिदैछ ।सो लकडाउन सकिनुअघि नै सरकारले आवश्यक निर्णय गर्न लागेको हो ।

यसअघि शनिबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले हवाई उडानलाई थप १५ दिन प्रतिबन्ध लगाउँदै जेठ २ गतेसम्मका लागि पुर्‍याइसकेको छ ।

सरकारलाई विज्ञहरु तथा संसदीय समितिले कोरोना भाइरसको प्रभाव क्षेत्र बर्गिकरण गरेर लकडाउन खुकुलो बनाउन सुझाव तथा निर्देशन दिए पनि अहिल्यै त्यस्तो गरे अवस्था नियन्त्रणबाहिर जान सक्ने भन्दै उच्चस्तरीय समिति र कार्यदलमा तत्कालै लकडाउन खुकुलो पार्न नहुने आवाज उठेको थियो ।

प्रतिक्रिया दिनुहोस्