प्रधानमन्त्रीले भने–भारतसँगको सिमाना खुल्दैन, लकडाउनको मोडल परिवर्तन हुनसक्छ
काठमाडौं , बैशाख १० । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग जोडिएको नेपालको सीमा नाका तत्काल नखुल्ने बताएका छन्। भारतमा कोरोना संक्रमणको अवस्था अन्त्य नभएसम्म सिमाना नखुल्ने उनले बताएका हुन् ।
सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने नेकपाका संघीय सांसदहरुसँगको छलफलका क्रममा प्रधानमन्त्रीले लकडाउनको मोडल परिवर्तन हुनसक्ने बताए । प्रधानमन्त्रीले संक्रमण नदेखिएका ठाउँमा लकडाउन खुकुलो हुने संकेत गरेको छलफलमा सहभागाी एक सांसदले बताए ।
भारतसँगको सिमाना भने अहिले नखुल्ने र जो जहाँ छन् त्यहीँ रहनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो ।
प्रधानमन्त्रीले हालै जारी दुई अध्यादेशबारे पनि सांसदहरुलाई अन्यौल र भ्रममा नरहन आग्रह गरेको छलफलमा सहभागी डोटीका सांसद प्रेम आलेले बताए ।
अध्यादेश आवश्यकता परेरै जारी भएको र यसमा अरु कुनै आशंका गरिरहनु नपर्ने प्रधानमन्त्रीको भनाइ थियो । प्रधानमन्त्रीसँग केही सांसदले पछिल्ला अवस्थाको बारेमा जिज्ञासा राखेका थिए ।
कोरोना भाइरसका कारण सरकारले मुलुकमा बन्दाबन्दी अर्थात् लकडाउनको घोषणा गरेको एक महिना पूरा भएको छ ।
कोरोना भाईरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि सरकारले गत चैत ११ गते मंगलवारदेखि देशभर लकडाउन घोषणा गरेको थियो । सरकारले बैशाख १५ गतेसम्म बन्दाबन्दी कायमै राखेको छ ।














प्रतिक्रिया दिनुहोस्