लकडाउनको घोषणा गरेको एक महिना पूरा , ४२ संक्रमित, चार जना भए निको

काठमाडौं, बैशाख १० । कोरोना भाइरसका कारण सरकारले मुलुकमा बन्दाबन्दी अर्थात् लकडाउनको घोषणा गरेको एक महिना पूरा भएको छ ।

कोरोना भाईरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि सरकारले गत चैत ११ गते मंगलवारदेखि देशभर लकडाउन घोषणा गरेको थियो । सरकारले बैशाख १५ गतेसम्म बन्दाबन्दी कायमै राखेको छ । त्यसपछि के गर्ने भन्ने कुनै निर्णय गरिएको छैन ।

यो बीचमा ३६ हजारभन्दा बढी व्यक्तिको परीक्षण गरिएको सरकारले जनाएको छ । ती मध्ये ८ हजार ७ सय ६४ जनाको पिसिआर परीक्षण गरिएको हो भने २७ हजार ९ सय ५६ जनामा आरडिटी परीक्षण गरिएको हो ।

परीक्षण गरिएका मध्ये देशभर ४२ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हिजोसम्म ३६ हजार ७ सय १९ जनाको परीक्षण गरिएको छ । जसमध्ये हाल देशभर ७ हजार ६७ जना क्वारेन्टाइनमा रहेका छन् भने १ सय ७ जना आइसोलेसन कक्षमा रहेका छन् । संक्रमित चार जना उपचापछि निको भएर घर फर्किएका छन् ।

सरकारले एक साताका लागि भनेर शुरु गरेको बन्दाबन्दीको अवधि एक महिना पुगेपनि जुन गतिमा मानिसहरुको परीक्षण गरेर मुलुकलाई विस्तारै खुकुलो बनाउने दिशामा कदम चाल्नु पर्दथ्यो त्यस्तो देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्