बार्सिलोनाको लागि मेस्सीले गरे ४ गोल

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाले ला लिगामा एबारलाई ६–१ ले हराउँदै शतप्रतिशत नतिजालाई निरन्तरता दिएको छ । लियोनल मेस्सी एक्लैको ४ गोलले बार्सिलोनाले सहज जित हासिल गर्यो ।

खेलको २० औं मिनेटमा मेस्सीले पेनाल्टी मार्फत गोल गर्दै अग्रता दिलाए । नेल्सन सेमेडोलाई एलेजान्द्रो गाल्भेजले लडाएपछि पाएको पेनाल्टीलाई मेस्सीले सदुपयोग गरेका हुन् । बार्सिलोनाले भ्रमणकारी टोलीमाथि थप दबाब सिर्जना गर्दै पौलिनोको ३८ औं मिनेटको गोलमा अग्रता दोबर गर्यो ।

पहिलो हाफमा २–० को अग्रता लिएको घरेलु टोलीले दोस्रो हाफमा पाहुना टोलीमाथि दबाब जारि राख्यो । डेनिस स्वारेजले ५३ औं मिनेटमा गोल गरे भने मेस्सीले दोस्रो हाफमा थप ३ गोल गरे ।

५९ औं र ६२ औं मिनेटमा गोल गर्दै ला लिगामा अर्को ह्याट्रिक पुरा गरेका मेस्सीले ८७ औं मिनेटमा थप गोल गरे । मेस्सीको यो करियरको ४९ औं ह्याट्रिक हो । पाँच खेल खेलेको बार्सिलोना सबै खेल जित्दै १५ अंक सहित अंक तालिकाको शिर्षस्थानमा यथावत छ ।

प्रतिक्रिया दिनुहोस्