ललितपुर महानगरले तोक्यो पसल खोल्ने समय
काठमाडौं, बैशाख ६ । ललितपुर महानगरपालिकाले महानगरभित्रका ठूला स्टोर र साना पसललाई नियम पालना गरेर महानगरले तोकेको समयमा मात्रै खोल्न निर्देशन दिएको छ ।
ललितपुर महानगरले जारी गरेको विज्ञप्तिमा ठूलो स्टोरहरु बिहान १०बजेदेखि र साँझ सात बजेसम्म खोल्न अनुमति दिएको उल्लेख छ ।
त्यसैगरी साना साना पसलहरु र तरकारी तथा फलफूल पसलहरु बिहान सातबजे साँझ सात बजेसम्म खोल्न निर्देशन दिएको जनाइएको छ ।
उपप्रमुख गीता सत्यालको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । नगरप्रमुख चिरीबाबु महर्जनको उपस्थितिमा भएको बैठकमा आपूर्ति व्यवस्था र बजार व्यवस्थापनका बारेमा समेत छलफल गरिएको थियो ।
बैठकमा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, ठूला खाद्य स्टोर, उद्योग वाणिज्य संघ ललितपुरका प्रतिनिधिहरुको सहभागिताका थियो ।
विज्ञप्तिमा उल्लेख भए अनुसार पसल अगाडि साबुन पानी र ह्याण्ड स्यानिटाइजरको व्यवस्था गनुपर्ने, विक्रेताले मास्क र सर्जिकल ग्लोभ्स अनिवार्य,लगाउनु पर्ने , मास्क लगाएका ग्राहकलाई दुरी कायम गरेर लाइनमा बस्ने व्यवस्था मिलानुपर्ने, मूल्यसूची देखिने गरी राख्नुपर्ने, ग्राहकले सामान छुन र छनौट गर्न नपाउने व्यवस्था गनपर्ने जनाइएको छ ।
ठूला स्टोरका कर्मचारीले अनिवार्य रुपमा परिचयपत्र लगाउनु पर्ने जनाइएको छ । विज्ञप्तिमा बजार अनुगमन ललितपुर महानगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट संयुक्त रुपमा गरिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्