.अलपत्र परेकाहरुलाई गन्तब्यमा पुर्‍याउने बारे बालुवाटारमा छलफल चल्दै

काठमाडौं , बैशाख ५ । लकडाउनका कारण शहरमा र बाटोमा अलपत्र परेका मानिसलाई गन्तव्यसम्म पुर्‍याउने बारे व्यवस्था मिलाउने सरकारले तयारी गरेको छ ।

यस विषयमा कोभिड(१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा छलफल भएको छ । तर निर्णय गर्नु अघि प्रधानमन्त्री केपी ओलीसँग पनि छलफल भइरहेको छ । छलफलका लागि प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई पनि बोलाएका छन् ।

अलपत्र परेकालाई विशेष राहत प्याकेज वा गन्तव्यसम्म पुर्‍याइदिनेमध्ये एक निर्णय गर्ने तयारी समितिले गरेको छ ।

स्रोतका अनुसार घर जान दिने निर्णय गर्ने भन्दा पनि जनप्रतिनिधसँगको समन्वयमा जाने व्यवस्था मिलाउने बारे छलफल भइरहेको छ ।

उच्चस्तरीय समितिले बैठक अघि नेकपाका केही सांसदहरुसँग पनि छलफल गरेको थियो ।

लकडाउनका कारण अलपत्र परेका नगरिकहरु राजधानीसहितका विभिन्न स्थानबाट पैदल नै गाउँ फर्किरहेका छन् । सयौं किलोमिटरको दूरी उनीहरुले तय गरिरहेका छन् । खाना बस्नको समस्याका कारण नागरिकहरु अलपत्र पर्दा समेत सरकारले वेवास्ता गरेको भन्दै चर्को आलोचना भइरहेको छ ।

यसैबीच प्रदेश नम्बर पाँच सरकारले भने आफ्नो क्षेत्रमा आइपुगेका नागरिकलाई क्वारेन्टाइमा राख्ने व्यवस्था गरेको छ । खाना बस्न सहितको व्यवस्था गरिएको मुख्यमन्त्री शंकर पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्