कोभिड क्लिनिक सञ्चालन गर्दै सरकार, निजी अस्पतालका एम्बुलेन्सलाई केन्द्रीय नेटवर्कमा जोडिने
काठमाडौँ , बैशाख ४। सरकारले कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि कोभिड क्लिनिक सञ्चालन गर्ने निर्णय गरेको छ । आज भएको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।विकास देवकोटाले कोभिड–१९ को रोकथामका लागि कोभिड क्लिनिक सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए ।
उहाँले क्लिनिक सञ्चालनको अनुमति पाएका २५ वटा हब अस्पताल, ६४ वटा प्रादेशिक अस्पताल, २२ वटा मेडिकल कलेज र काठमाण्डौ उपत्यकाका १६ निजी अस्पताललाई कोभिड क्लिनिक सञ्चालनका लागि सूचीकृत गरेको जानकारी दिए।
निजी अस्पतालका एम्बुलेन्सलाई समेत केन्द्रीय नेटवर्कमा जोडिने
बिरामी ओसार–पसार गर्न रेडक्रस सोसाइटीसँग भएको र एक सय शय्या भएका निजी अस्पतालका एम्बुलेन्सलाई समेत केन्द्रीय नेटवर्कमा जोड्ने निर्णय भएको छ ।
यी एम्बुलेन्सको सेवाका लागि १०२ नम्बरमा फोन गर्न सकिने छ । आपूर्ति व्यवस्थापनबारे हरेक बिहीबार दिउँसो २ बजेदेखि ३ बजेसम्म बैठक बस्ने निर्णय पनि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयसहित विपद् व्यवस्थापन, प्रदेशका सम्बन्धित मन्त्रालयसँग सहकार्य गर्न बैठक बस्ने निर्णय भएको उनले बताए ।
यस्तै, सरकारी तथा निजी प्रयोगशालामा कार्यरत प्राविधिकलाई कोभिड–१९ को परीक्षण गर्नेबारे अभिमुखीकरण गरिएको छ । प्रदेशमा जनशक्ति र परीक्षण गर्न स्वास्थ्य मन्त्रालयले ११ औं तहका कर्मचारीको संयोजकत्वमा डाक्टर तथा स्वास्थ्यकर्मी खटाइएको पनि मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले प्रदेशमा भएका स्वास्थ्य संस्था, जनशक्ति र एम्बुलेन्सकाबारेमा अभिलेख राख्न सबै प्रदेशलाई निर्देशन दिएको छ । विदेशबाट आएका व्यक्तिलाई अनिवार्य क्वरेन्टीनमा राख्न पनि मन्त्रालयले आग्रह गरेको छ ।














प्रतिक्रिया दिनुहोस्