सनसिटी अपार्टमेन्टमा आरडीटी विधिबाट कोरोना भाइरस परीक्षण सुरु गर्न थालीयो

काठमाण्डौ , बैशाख ३ । काठमाण्डौको पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्टमा आरडीटी विधिबाट कोरोना भाइरस परीक्षण सुरु भएको छ ।

सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’ मा बस्दै आएका दुई जनामा मंगलबार कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएपछि त्यस अपार्टमेन्टमा रहेकाहरुको परीक्षण थालिएको हो ।

ब्लक ‘ए’ मा बस्दै आएका एकै परिवारका तीन जनामा आरडीटीबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो भने पीसीआर विधिबाट गरिएको परीक्षणमा २ जनाको कोरोना पुष्टि भइसकेको छ । बुधबार ब्लक ‘ए’ मा रहेका ९० परिवारका २ सय ४३ जनाको परीक्षण थालिएको हो ।

गएको चैत ८ गते सनसिटी अपार्टमेन्ट वेलफेयर सोसाइटीको चुनावमा सङ्क्रमित परिवारका एक सदस्यले सहभागिता जनाएकाले अपार्टमेन्टमा रहेका सबैको परीक्षण थालिएको हो । सनसिटी अपार्टमेन्टमा रहेका पाँच वटा ब्लकमा ५ सय परिवारका करिब १ हजार ५ सय जना बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्