नेपालमा अहिलेसम्म साढे ८ हजार जनाको कोरोना परीक्षण

काठमाडौं , चैत ३० । सरकारले हालसम्म ८ हजार पाँच सय बढीको नमुना परीक्षण गरिएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर मेसिनबाट ५ हजार १८४ र र्‍यापिट टेष्ट किटबाट ३ हजार ३२१ गरी कुल ८ हजार ५ सय ५ जनाको नमुना परीक्षण गरिएको हो।

मन्त्रालयमा आज आयोजित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा। विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ४ हजार २० वटा परीक्षण गरिएको जानकारी दिएका छन्। तीमध्ये पछिल्लो २४ घण्टामा मात्र ६२८ वटा परीक्षण गरिएको छ । त्यस्तै काठमाडौंबाहिर पीसीआर मेसिनबाट १ हजार १६४ वटा परीक्षण गरिएको छ।

सबै प्रदेशमा पीसीआर मेसिनलगायत र्‍यापिट टेष्ट किट सबै जिल्लामा पुगिसकेकाले परीक्षणको दायरा वढेको उनले बताएका छन्। धेरै जिल्लामा परीक्षण भइरहेको र त्यसको रिपोर्ट आउने क्रम जारी रहेको प्रवक्ता देवकोटाले बताए। आजसम्म देशभर ७ हजार ९७३ जना क्वारेन्टाइनमा रहेका छन्। त्यस्तै आइसोलेसनमा कुल ८५ जना रहेका छन्। तीमध्ये काठमाडौंमा १५ जना र काठमाडौंबाहिर ७० जना रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्