डब्ल्यूएचओको चेतावनी -लकडाउन चाँडै हटाउँदा घातक हुन्छ

काठमाडौं , चैत २९ । विश्व स्वास्थ्य संगठनका प्रमुख डा टेड्रोस अदानोम घेब्रेयेससले लकडाउनका उपायहरु चाँडै हटाउँदा घातक हुने चेतावनी दिएका छन् ।

जेनेभा भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै उनले प्रतिबन्धहरु खुलुको बनाउने रणनीतिबारे विभिन्न मुलुकसंग छलफल भैरहे पनि यो छिटो हटाउन नहुनेमा जोड दिए ।

डब्ल्यूएचओ प्रमुख टेड्रोसले कोरोनाका कारण चर्को आर्थिक मार खेपिरहेका मुलुकहरुले पनि प्रतिबन्धहरु खुकुलो गर्नेबारे सतर्क हुनु पर्ने बताए ।

केही यूरोपेली मुलुकहरुमा महामारीको गति केही घटेपनि अरु मुलुकमा तीब्र गतिमा फैलिएको भन्दै सचेत रहनु पर्नेमा जोड दिए ।

पछिल्लो समय अफ्रिकाको ग्रामिण क्षेत्रमा महामारी फैलिरहेको छ । यता यूरोपमा सबैभन्दा बढी कोरोना प्रभावित मुलुकहरु स्पेन र इटालीमा प्रतिबन्ध केही खुकुलो पारेपनि लकडाउन भने जारी छ ।

स्पेनमा केही निर्माण र उत्पादन क्षेत्रका कामदारलाई सोमबारबाट काममा फर्काउने तयारी गरिएको छ ।

तर सामाजिक दूरी कायमै राख्न सचेत गराइएको छ । स्पेनमा पछिल्लो १७ दिनमा कोरोनाका कारण दैनिक मृत्यु हुनेको संख्या ६ सयमा सिमित भएको छ ।

उता इटालीमा लकडाउनलाई मे ३ तारिखसम्म बढाइएको छ । तर गत मार्च १२ देखि बन्द केही व्यवसाय खोल्न भने अनुमति दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्