कोउटिन्होबिनाको लिभरपुल स्वान्सीसँग पराजित

लन्डन (एजेन्सी) इंग्लिस प्रिमियर लिगमा अंक तालिकाको पुछारमा रहेको स्वान्सीसँग लिभरपुल पराजित भएको छ । गतसाता अपराजित रहेको म्यानचेस्टर सिटीलाई हराएको लिभरपुल १–० को पराजय भोग्दै अंक तालिकाको चौथो स्थानमा कायम रहयो ।

स्वान्सीका लागि खेलको पहिलो हाफको अन्तिमतिर आल्फी मवसनले गरेको गोल जितको लागि पर्याप्त रहयो । यस हारसँगै लिभरपुलले चौथो स्थानमा ५ अंकको अग्रता लिने अवसर गुमायो ।

फिलिप कोउटिन्हो बार्सिलोना प्रस्थान गरेपछि समस्या हुने भनिएपनि लिभरपुलले सिटीलाई हराउँदै राम्रो प्रदर्शन गरेको थियो । तर सोमबार मोहमद सलाह, रोबर्टो फिर्मीनो र साडियो मानेले अपेक्षाकृत प्रदर्शन गर्ने सकेनन् । स्वान्सीले पनि राम्रो डिफेन्स गर्दै विपक्षी टोलीलाई कुनै मौका दिएन ।

अंक तालिकामा लिभरपुल २४ खेलमा ४७ अंक जोड्दै चौथो स्थानमा छ । पुछारमा रहेको स्वान्सीले २० अंक जोडेको छ । टोली रेलिगेसन क्षेत्रबाट ३ अंक पछाडि छ ।

प्रतिक्रिया दिनुहोस्