बहराइनमा १२ नेपालीलाई कोरोना संक्रमणको पुष्टि
काठमाडौं, चैत २१ । वैदेशिक रोजगारीका लागि बहराइन पुगेका १२ नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बहराइनको मनामास्थित नेपाली दूतावासले शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी यसको पुष्टि गरेको हो।
२ अप्रिल २०२० साँझ ८ बजेसम्म चेकजाँच गरिएका ३६ हजार ५ सय ६ जनामध्ये २ सय ५८ जनामा संक्रमण देखिएको र त्यसमध्ये ३ जनाको अवस्था गम्भीर रहेको दूतावासले जनाएको छ। ३ सय ८१ जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् भने ४ जनाको मृत्यु भएको छ।
केही समयअघि सल्मावादस्थित एक क्याम्पमा एक जना विदेशी नागरिकमा कोरोनाको संक्रमण देखिएपछि त्यहाँ कार्यरत करिब ४ सय जनालाई क्वारेन्टाइनमा राखिएको थियो। तीमध्ये बिहीबार ९ नेपालीमा संक्रमण पुष्टि भएको दूतावासले जनाएको छ। यसअघि संक्रमण देखिएका ३ सहित बहराइनमा कोरोना संक्रमित हुने नेपालीको संख्या १२ पुगेको दूतावासको विज्ञप्तिमा उल्लेख छ।
एकै पटक ठूलो संख्यामा नेपालीहरू संक्रमित भएपछि नेपालका विभिन्न ठाउँबाट बहराइन पुगेका नेपाली त्रसित बनेका छन्। बहराइनमा करिब २० हजार नेपाली कार्यरत रहेका छन् ।














प्रतिक्रिया दिनुहोस्