नेपालमा अर्को एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण : सङ्ख्या ६ पुग्यो

काठमाडौं , चैत २० । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बिहीबार दिउँसो थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरस कोभिड–१९ संक्रमितको संख्या ६ पुगेको छ ।

नेपालमा छैटौं कोरोना भाइरस (कोभिड–१९)को संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा कोरोना संक्रमित व्यक्तिको संख्या ६ पुगेको जानकारी दिएका हुन् ।

छैटौं व्यक्ति पनि चैत ४ गते कतारको दोहाबाट कतार एयरवेजको विमान क्यूआर ६५२ बाट नेपाल आएको डा। विकास देवकोटाले जानकारी दिए ।ती व्यक्ति कहाँका हुन् र कहाँ उपचाररत छन् भन्नेबारेमा भने मन्त्रालयले केही बताएको छैन ।पहिलो कोरोना संक्रमित व्यक्ति भने उपचारपछि निको भइसकेका छन् ।

दोस्रो संक्रमित व्यक्ति काठमाडौंकी १९ वर्षीया युवती हुन् । उनी फ्रान्सबाट दोहा हुँदै कतार एयरवेजको क्यू आर ६५२ जहाजबाट काठमाडौं आएकी थिइन् । उनमा चैत १० गते कोरोना संक्रमण पुष्टि भएपछि सरकारले देशभर लकडाउन घोषणा गरेको थियो ।

तेस्रो धादिङको, चौथो धनगढीको र पाँचौं बाग्लुङको व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्