आजैदेखि घर घरमा गएर फोहर उठाउन सरकारको निर्देशन, बाहिर फाल्नेलाई कारबाही (विज्ञप्तीसहित)

काठमाडौं, चैत १५ । सरकारले तत्काल नागरिकको घर घरमा गएर फोहर संकलनको व्यवस्था मिलाउन स्थानीय तहहरुलाई निर्देशन दिएको छ ।

शनिबार सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विज्ञप्ती जारी गर्दै आजैदेखि घर घरमा गएर फोहर संकलनको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।आजैदेखि काठमाडौं उपत्यकाको फोहर संकलन र सिसडोलमा बिसर्जन शुरु भएको पनि मन्त्री मानन्धरले जानकारी दिए ।

कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिको सामना गर्नका लागि लकडाउनमा बस्नुपरेको यो अवस्थामा घरबाट निस्कने फोहोर व्यवस्थापनलाई चुस्त बनाउन मन्त्रालयका तर्फबाट पहल सुरु गरिसकिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

मन्त्रालयले आजैदेखि घरघरमा फोहर संकलक पठाई त्यसको समुचित व्यवस्थापनमा लाग्न देशभरका सम्पूर्ण महानगरपालिका, उपमहानगरपालिका,नरपालिकाहरुलाई निर्देशनात्मक अनुरोध गरेको हो ।

संघीय राजधानी काठमाण्डौको फोहोर व्यवस्थापनका सवालमा देखिएको समस्या समाधानका लागि काठमाण्डौं र ललितपुर महानगरपालिका तथा भक्तपुर नगरपालिकासहित सबै नगरपालिकाहरुलाई तत्काल समाधान हुनेगरी काम थाल्न समेत अनुरोध गरिएको छ ।

उपत्यकाको फोहोर उत्सर्जन हुने स्थान सिसिडोलमा पनि गर्मीसँगै फैलने दुगन्र्ध रोकथाम र किटाणु नासका लागि आवाश्यक औषधीको व्यावस्थापन गराउने काम तत्काल थालनी गर्न उपत्यकाका नगरपालिकालाई निर्देशन दिईसकिएको विज्ञप्तीमा उल्लेख छ ।

साथै संक्रमणको जोखिम न्युनिकरणका लागि बिहान ८ बजेभित्र फोहर बसिर्जनको ब्यवस्था मिलाउन उपत्यकाका नगरपालिकाहरुसँग मन्त्रालयले आवश्यक पहल गरिसकेको उल्लेख गरिएको छ ।

फोहोर संकलनमा खटिने संकलक र सवारी चालक तथा अन्य कर्मचारीलाई आवाश्यक स्वास्थ्य सुरक्षा सामाग्रीको व्यवस्थापन मिलाउने कामको थालनि समेत भईसकेको मन्त्री मानन्धरले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्