नर्भिकले भन्यो- कोरोना भाइरसका विरामी फेला परेका छैनन्, अनावश्यक हल्लाको पछि नलाग्न सरकारको आग्रह
काठमाडौं , चैत ८ । नर्भिक अस्पतालमा कोरोना भाइरसको संक्रमित बिरामी कोही पनि फेला नपरेको सो अस्पतालले जनाएको छ । सामाजिक सन्जालमा भाइरल भएको अडियो भ्रामक र कपोकल्पित रहेको अस्पतालको भनाइ छ ।यसअघि सामाजिक सन्जालमा नर्भिक अस्पतालमा कोरोनाका बिरामी भेटिएको अफवाह फैलिएको थियो ।
यसैबीच काठमाण्डौका केही अस्पतालमा कोरोना संक्रमित भेटिएका र उनीहरुको ज्यान गएको भन्ने हल्लाको पछि नलाग्न सरकारले आग्रह गरेको छ ।
नेपालमा अहिलेसम्म एकजना बाहेक कसैमा पनि कोरोना नभएको पाइएको र उनी पनि निको भैसकेकाले हल्लाको पछि नलाग्न सरकारले आग्रह गरेको हो । अहिलेसम्म कोरोनाको लक्षण मिलेका ५ सय ४६ सय जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि गएको माघ ९ गते चीनबाट आएका एकजनामा कोरोना भएको पुष्टि भएको थियो । अहिले ति व्यक्ति पनि निको भएर काममा फर्किसकेकाले नेपालमा कोरोना संक्रमित नरहेका विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
अहिलेसम्म कोरोनासँगको लक्षण मिलेपछि काठमाण्डौको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ६० जना र ललितपुरको लगनखेलमा रहेको पाटन अस्पतालमा ९ जनालाई आइसोलेशन अर्थात डाक्टरको निगरानीमा राखिएको तर उनीहरुमा कोरोना नभएको पुष्टि भएपछि घर पठाइएको अस्पतालले जनाएको छ ।
कोरोनाको शंका लागेका बिरामीलाई डाक्टरको निगरानीमा राख्ने गरिएको छ भने उनीहरुको नमुना परीक्षण गर्दा कोरोना नभए घर पठाउने गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए ।
अहिलै मौसमी रुघाखोकी लाग्ने समय नै भएकाले पनि नआत्तिन तर सावधानी भने अपनाउन उनले आग्रह गरे । तर रुघाखोकी लागेपछि अरुसँगको दुरी भने बढाउन पनि उनले अनुरोध गरेका छन ।
बारम्बार साबुनपानीले हात धुने गर्नाले कुनै पनि संक्रमण फैलिनबाट जोगिन सकिने सरुवारोग विशेषज्ञले बताएका छन् । सरकारले कोरोना प्रभावित देशबाट आएका व्यक्तिलाई १४ दिन क्वारेन्टाइन अर्थात परिवारबाट छुट्टै बस्न आग्रह गर्दै आएको छ ।
अस्पतालका नायव महाप्रवन्धक आरपी मैनालीले शनिबार विज्ञप्ति जारी गर्दै अफवाह फैलाउनेलाई कडा ‘सामाजिक कारवाही’ गर्न माग गरेका छन् । उनले यसलाई सामाजिक अपराध भनेका छन् ।
मैनालीका अनुसार नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले एकजुट भइ समस्यासँग लड्नुपर्ने बेलामा भ्रम फैलाइएकोप्रति खेद प्रकट गरेका छन् ।
भ्रामक अडियोबाट अफवाह फैलाउने व्यक्तिबारे प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्