आजदेखि यी देशबाट नेपाल आउन पाइने छैन

काठमाडौं,चैत ७ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोना संक्रमित देशहरुबाट नेपाल आवागमनमा रोक लगाएको छ । समितिको बिहिबार बसेको बैठकले शुक्रबार रातिदेखि खाडीका ६ देश,मलेशिया,दक्षिण कोरिया ,जापान तथा यूरोपका देशबाट नेपाल आवागमनमा रोक लगाएको हो । साथै विदेशी नागरिकसँगै नेपाल नागरिक पनि यी देशबाट ट्रान्जिट भएर आउन पाउने छैनन् ।

सरकारले काठमाडौंसँग प्रत्यक्ष उडान भएका कतार,संयुक्त इमिरेट्स, साउदी अरब,मलेशिया,दक्षिण कोरिया,टर्की,ओमन र जापानका उडान रोक्ने निर्णय गरेको छ । त्यहाँबाट आउन नपाउने भएपछि ती देशबाट जहाज आउन पाउने छैनन् ।

यसअघि कतारले नेपालीलाई प्रवेशमा रोक लगाए पनि दोहा काठमाण्डौ उडान भइरहेको थियो । दोहा ट्रान्जिट भएर अन्य देशमा जाने र आउने यात्रुहरु पनि थिए ।
सरकारले रोक नलगाएका देश जस्तै अमेरिका लगायतका देशबाट आउनेले पनि कतारसहित खाडीका अरु देश र मलेसियामा ट्रान्जिट हुँदै नेपाल आउन पाउने छैनन् ।
सरकारले प्रतिबन्ध नलगाएको देशबाट भारतको नयाँ दिल्ली, सिंगापुर, हङकङ, बैंकक र चीनको ग्वाङजाउबाट भने नेपाल आउन पाइनेछ । अर्थात तपाईँ अमेरिका, अस्टे«लियाबाट चीन, बैंकक, हङ्कङ वा सिंगापुर ट्रान्जिट बनाएर नेपाल आउन पाउनुहुनेछ ।तर प्रतिबन्धित देशमा रहेका नेपाली वा अन्य नागरिक भने यी ठाउँलाई ट्रान्जिट बनाएर पनि आउन पाउने छैनन् ।

शुक्रबार राति १२ बजेसम्म काठमाण्डौं अवतरण गरिसक्ने उडानको टिकट भएका यात्रुहरु चाहिँ प्रतिबन्ध लगाइएका देशबाट वा ट्रान्जिट हुँदै नेपाल आउन पाउनेछन् । यो प्रतिबन्ध अप्रिल १२ अर्थात आउँदो चैत ३० गतेसम्म लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्